कामठाडौं । स्वर्णलक्ष्मी सहकारी ठगीको आरोपमा प्रतिवादी बनाइएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशीले जीबी भन्ने गितेन्द्र बाबु राई र रवि लामिछानेको नियत गलत रहेको बयान दिएका छन्।
यसअघि नै जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतबाट झिकाएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रहरीले उनको बयान लिएको थियो। बयानका क्रममा आफू निर्दोष रहेको दाबी गरेका जोशीले जीबी र रविको गलत नियत बुझेर नै आफूले गोर्खा मिडिया नेटवर्क छाडेको बयान दिएका छन्।
‘गोरखा मिडिया नेटवर्क प्रालिबाट छोटो समयमा आफू प्रतिवादी गितेन्द्रबाबु राई र रवि लामिछानेको गलत नियत बुझी कम्पनी छाडि गएको हुँदा मलाई सो सम्बन्धमा कुनै चासो हुने कुरा रहेन’, पूर्वडीआईजी जोशीले बयानमा भनेका छन्।
रकमको सम्बन्धमा जीबी र रविलाई नै थाहा हुने उनको बयान छ। रवि र जीबीले विभिन्न मितिमा चेकमार्फत सहकारीको खातामा जम्मा गरिदिएको ९३ लाख ६ हजार ६६० रुपैयाँको विषयमा पनि उनीहरूलाई थाहा हुने छविको बयान छ।
स्वर्णलक्ष्मी सहकारीबाट पटक पटक गरी २ करोड ६५ लाख रुपैयाँ गोर्खा मिडियाको खातामा जम्मा भएको विषयमा पनि उनले हाल आएर मात्रै थाहा भएको दाबी गरेका छन् ।