ईसीडी शिक्षा सुधारका लागि माइतीघरमा उभिएर धर्ना दिईरहेका चापागाईंलाई शिक्षामन्त्रीले भेटिन्

दियोपोस्ट संवाददाता  

काठमाडौँ । शिक्षा सुधारका लागि भन्दै काठमाडौँको माइतीघर मण्डलामा उभिएर विरोध जनाइरहेका नेत्र चापागाईंलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भेट गरेकी छिन्।
बाबुराम भट्टराई नेतृत्वको नेसपा ९नयाँ शक्ति० निकट विद्यार्थी संगठन का अध्यक्ष रहेका चापागाईंले ईसीडी शिक्षकको योग्यता, अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा, विद्यार्थीलाई दिइँदै आएको खाजा शुल्क वृद्धिलगायत १४ बुँदे मागसहित उनले प्रदर्शन गरिरहेका छन्।

सोमबार माइतीघरमा पुगेर उनलाई भेटेसँगै शिक्षामन्त्री भट्टराईले आफू चालु आर्थिक वर्षको बजेट बनाइसकेपछि आएकाले आफ्नो योजना बजेटमा राख्न नसकेको उल्लेख गरेकी थिइन्।
ईसीडीको समस्या समाधान गर्न मन्त्रालयले कार्यदल बनाएर काम गरिरहेको जानकारी दिँदै शिक्षामन्त्रीले दरबन्दीबारे पुनरवलोकन भइरहेको दाबी गरिन्।

पालिकाको शिक्षा योजना र शिक्षा कोर्सबिना सांसदहरू नै फाइल लिएर हिँड्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको भट्टराईको भनाइ छ। हरेक पालिकासँग शिक्षा योजना र शिक्षा कोर्ष हुनुपर्ने उनको मत छ।
चापागाईं गत जेठमा माइतीघरमै १९ दिनसम्म उभिएर आन्दोलन गरेका थिए। तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले उनको माग पूरा गर्ने आश्वान दिएकी थिइन्।

तर माग सम्बोधन नभएपछि उनले फेरि उभिएर आन्दोलन थालेका हुन्। उनलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिसमिति सभापति अम्मरबहादुर थापाले समेत भेट गरिसकेका छन्।