बालुवा चालेर श्रीमानको उपचार खर्च जुटाउँदै आएकी बुद्धिसराले पाईन् आर्थिक सहयोग !

रीता बुढाथोकी

बुटबल । श्रीमानको दुबै किड्नी बिग्रीए पछि तिनहुँ खोलामा बालुवा चालेर उपचार खर्च जुटाइरहेकी बुटबलकी बुद्धिसरा कामीलाई ‘संस्कृति ज्वेलर्स’ हङकङ्ले आर्थिक सहयोग गरेको छ । ‘लाइन्स क्लव अफ बुटबल’ अन्तर्गत ‘हेल्पिङ्ग हेन्डस् सोसाइटी’को सहकार्यमा ‘संस्कृति ज्वेलर्स’ले पीडित परिवारलाई आर्थिक सहयोग गरेको हो ।

बुद्धिसरालाई नगद २० हजार रुपैयाँ सहयोग गरिएको ‘लाइन्स क्लव अफ बुटबल’का सदस्य तथा समाजसेबी शान्ति सेनचुरीले जानकारी दिइन् । त्यस्तै, पाल्पा सितलनगर स्थायी घर भई हाल बुटबलमा बस्दै आएका अर्का किड्नी पीडित २४ वर्षिया सोम बहादुर बिश्वकर्मालाई समेत १७ हजार रुपैयाँ नगद र हिटर उपलब्ध गराइएको उनले बताईन् । पीडित परिवारलाई घरमै पुगेर आर्थिक सहयोेग गरिएको र पीडितका लागि आफुहरु सधै तत्पर रहेको उनको भनाई छ ।

केही महिना अघि ‘दियो पोष्ट’मा प्रकाशित ‘उपचार खर्चको अभावमा रोग र भोकसँग लडिरहेका टोपबहादुर’ शिर्षकको समाचार पढेर पीडितको बारेमा थाहा पाएपछि आफुले आर्थिक सहयोग गरेको ‘संस्कृति ज्वेलर्स’का संचालक प्रकाश राजले बताए । पीडित कामीले आफ्ना श्रीमानको उपचारका लागि घामपानी नभनी बालुवा चाल्दै गरेको तस्विर र भिडियोले मन छोएको उनले बताए । यसभन्दा पहिले पनि आफुले कैयौँ पीडितलाई आर्थिक तथा अन्य जिन्सी सहयोग गर्दै आएको उनको भनाई छ ।

यता बुद्धिसरा कामी घर व्यवहार चलाउन र श्रीमानको उपचारका लागि खर्च जुटाउनकै लागि घर नजिकैको तिनाउ खोला बगरमा बालुवा चाल्दै आएकी थिइन् । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनका ११ वर्षीय छोरा आयुष बिक पनि आमासँगै बालुवा चाल्न तिनहुँ खोला जान्छन् ।

पीडितलाई थोरै भएपनि सहयोग गर्न पाएको भन्दै हङ्कङ्गस्थित ‘संस्कृति ज्वेलर्स’का संचालक प्रकाश राजले खुसी ब्यक्त गरे ।

सम्बन्धित खबर

सिफारिस