आउँदो बैशाखमा ‘दलित गोलमेच’ सम्मेलन हुने, आयोजक समितिद्वारा ‘अवधारणा पत्र’ सार्वजिनक !

Rita Budhathoki  

काठमाडौं । ‘सामाजिक न्याय’ र ‘दलित मुक्ति’का लागि इतिहाँसदेखि वर्तमानसम्म भएका कार्यको समिक्षा गर्दै दलित मुुक्ति आदोलनलाई नयाँ दिशा दिन ‘दलित गोलमेच’ सम्मेलन गरिने भएको छ । देशभरिका दलित अभियन्ताहरुको ‘विचार’ र ‘एजेण्डा’मा एकरुपता कायम गर्न आवश्यक देखिएको भन्दै आउँदो वैशाखमा राष्ट्रिय ‘गोलमेच सम्मेलन’ गरिने भएको हो ।

दलित मुक्ति अभियन्ता तथा दक्षिण अफ्रिकाका लागि पूर्व राजदुत डा.निर्मल विश्वकर्माको संयोजकत्वमा १०१ सदस्यीय गोलमेच सम्मेलन मूलआयोजक समिति निर्माण गरि ‘राष्ट्रिय दलित गोलमेच सम्मेलन’को अवधारणा पत्र समेत सार्वजिनक गरिएको छ ।

अवधारणा पत्रमा भनिएको छ–‘सामाजिक न्याय र दलित मुक्तिका लागि भगत सर्वजित देखि हालसम्मका दलित समुदायका योद्धा तथा महापुरुषहरु प्रति सम्मान गर्दै यो आन्दोलनमा आाफ्नो अमुल्य योगदान पुयाउने सम्पुर्ण नेता तथा मानव अधिकारकर्मीहरुको मुल्याँकन र सिकाइ ग्रहण गर्दै दलित समुदायको विशिष्ठ अवस्थामा यो समुदायबीच विचार र एजेण्डामा एकरुपता कायम गर्न आवश्यक देखिएकोले राष्ट्रिय दलित गोलमेच सम्मेलन आयोजना गर्न लागिएको हो ।’

समितिका संयोजक डा.निर्मल बिश्वकर्माका अनुसार आउँदो बैसाखमा हुने भनिएको गोलमेच सम्मेलनमा देशैभरिका दलित अभियन्ता, बुद्धिजिबी, नागरिक समाज र सरोकारवालाहरुलाई एउटै मञ्चमा उपस्थित गराइ बिचार मन्थन गरिनेछ । सम्मेलनबाट निस्केको नयाँ बिचार र कार्यदिशामार्फत दलित आन्दोलनको नयाँ मार्गचित्र कोरिने उनले बताए ।

देशको १४ प्रतिशत जनसंख्या ओगट्ने दलित समुदायमा राज्यसत्ताकै कारण विकराल नैराश्यता तथा त्रास सृजना भइरहेको र यिनै जटिल अवस्थालाई सम्वोधन गर्न दलित समुदायका नेता तथा अभियन्ताहरुले आ–आफनै प्रयासबाट वैकल्पिक शक्ति निर्माण गरि राज्यसत्ताको चरित्रको प्रतिरोध गरिने संयोजक डा.बिश्वकर्माको भनाई छ ।

सम्मेलनको औचित्यमाथि प्रकाश पार्दै डा.बिश्वकर्मा भन्छन्,–‘नेपालका कम्युनिष्ट पार्टीहरुप्रति दलित समुदायको ठूलो भरोसा रहेको थियो । गणतन्त्र पश्चात नेपालको राज्यसत्ता यिनै पार्टीहरुको कब्जामा गर्यो । तर, यी पार्टीहरुले वर्गीय मुक्ति पश्चात मात्र जातीय मुक्ति हुन्छ भन्ने भ्रम छर्न र सर्वहारा वर्गको अधिनायकत्वको आशमा ‘एकल जातीय’ ब्राह्मणवादी सत्ता निर्माणमा षडयन्त्र गर्न उद्धत छन् । हामीले गोलमेच सम्मेलन मार्फत यसलाई चिर्ने प्रयत्न गर्नेछौँ ।’

सम्मेलनले दलित समुदायको वैकल्पिक शक्ति निर्माण, दलित मुक्तिको वैचारिकी निर्माण, रणनीतिमा एकरुपता र दलित समुदायका अभियन्ताहरु बीच मोर्चाबन्दी गर्ने जस्ता बिषयलाई प्राथमिकता दिने बताइएको छ । आउँदो बैसाखमा हुने भनिएको दलित गोलमेच सम्मेलनको तयारी तीब्र परिएको गोलमेच सम्मेलन मूलआयोजक समितिका सदस्य अग्निशिखाले जानकरी दिए ।

गोलमेच सम्मेलन मूलआयोजक समितिमा दलित अभियन्ता डा. मित्र परियार, राजेश नेपाली, खगेन्द्र सुनार, राजेश मयाल, अग्निशिखा, तारासिंह विश्वकर्मा, शुनिल राम, संगिता कुमारी राम, तुलशी रसाइली तथा प्रकाश टमटा प्रतिकार लगायत रहेका छन् ।