चोलेन्द्र प्रधानन्यायधीशमा पक्का, संसदीय सुनुवाई समितिद्धारा सर्वसम्मत अनुमोदन

दियो पोस्ट  

काठमाडौं, पुष १७ । प्रधानन्याधीशमा चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार संसदीय सुनुवाई विशेष समितिले चोलेन्द्रविरुद्धको सुनुवाई सकिएलगत्तै उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

समितिले सर्वसम्मत् रुपमा अनुमोदन गरेपछि चोलेन्द्रलाई प्रधानन्यायधीश बन्ने बाटो खुलेको छ । अब उनलाई राष्ट्रपतिले नियुक्त गर्ने छिन् ।

हालका प्रधानन्याधीश ओमप्रकाश मिश्रले आजैबाट अवकाश पाउने भएकाले एक महिना अगाडि नै संवैधानिक परिषदले बरिष्ठताको आधारमा चोलेन्द्रको नाम सिफारिस गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ जबराले मंगलबार दिएका छन्। गत आईतबार अबेर सुरु भएको संसदीय सुनुवाई कर्मचारी आन्दोलनको कारण प्रभावित भएको थियो । दिउँसो २ बजेदेखि शुरु भएको सुनुवाई कर्मचारीले काम गर्न नमान्दा ४ बजे नै स्थगित भएको थियो ।

संसदीय सुनुवाई समितिमा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिँदै चोलेन्द्रले आफु रहुन्जेल न्यायमा प्रश्न चिन्ह उत्पन्न हुन नदिने प्रतिवद्धता ब्यक्त गरेका थिए । उनी वि.स २०८० सालसम्म प्रधानन्यायधीशको रुपमा रहनेछन् ।

२०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आजदेखि नै अवकाश पाएका छन्।