पत्ता लाग्यो सानो संसार अल्टिमा टुले : बच्चाहरूले खेल्ने ‘हिउँको मान्छे’ जस्तो आकृति

Diyo post  

काठमाडौं, पुस १९ । अमेरिकी अन्तरिक्ष निकाय नासाले अन्तरिक्ष यान अहिलेसम्म पुगेको सबैभन्दा टाढाको पिण्ड अल्टिमा टुलेको स्पष्ट तस्बिरहरू सार्वजनिक गरेको छ।

अल्टिमाको पहिलो स्पष्ट तस्बिरमा त्यो पिण्डमा केही धब्बाहरू बनेको देख्न सकिन्छ। बमारफयुक्त त्यो पिण्ड प्रकाश परेका र नपरेका भाग छुट्टिएको देख्न सकिन्छ।

ती तस्बिरमा अल्टिमा टुले दुई पिण्डहरू जोडिएर बनेको जस्तो पनि देखिन्छ। बरफयुक्त पिण्डलाई कतिपय वैज्ञानिकले युरोप र अमेरिकामा हिउँद याममा बच्चाहरूलाई खेल्न बनाइने ‘हिउँको मान्छे’ जस्तै देखिएको बताएका छन्।

अहिलेसम्म अन्तरिक्ष यान पुगेको सबैभन्दा टाढाको त्यो पिण्ड करिब ३० किलोमिटर लामो छ।

ती तस्बिर अन्तरिक्ष अन्वेषक यान न्यू हराइजनले खिचेको हो। न्यू हराइजनले अल्टिमालाई पृथ्वीबाट साढे छ अर्ब किलोमिटर पर भेट्टाएको हो।

त्यसले अन्तरिक्ष यात्रामा अहिलेसम्म सबैभन्दा टाढा पुगेर नयाँ कीर्तिमान कायम गर्ने सफलता पाएको छ।

यसअघि सन् २०१५ मा त्यही यानले प्लुटो अर्थात पहिले पहिले यम ग्रह भनेर चिनिने पिण्ड पार गरेर सबैभन्दा टाढा पुगेको कीर्तिमान कायम गरेको थियो।

तर अल्टिमा त्योभन्दा पनि डेढ अर्ब किलोमिटर पर रहेको छ। अल्टिमाले सैर्य मण्डल बाहिरको काइपर बेल्ट भनिने क्षेत्रबाट सूर्यको परिक्रमा गर्ने गर्दछ।

त्यो क्षेत्रमा अल्टिमा जस्ता थुप्रै काइपर सदस्यहरू रहेका छन्।

नासाको टोली
अन्तरिक्ष यानले आउँदा साताहरूमा थप अनुसन्धान गर्ने र थुप्रै जानकारीहरू पृथ्वामा पठाउने अपेक्षा वैज्ञानिकहरूले गरेका छन्।

वैज्ञानिकहरूले जारी अन्वेषणले सौर्य मण्डल उत्पत्ति हुनुको कारणबारे ताजा ज्ञान उपलब्ध हुने अपेक्षा गरेका छन्।

सबभन्दा पहिले वैज्ञानिकहरूले अल्टिमाले पठाएका तथ्याङ्कको थप विश्लषण गर्दैछन्। त्यसपछि उनीहरूले नासालाई अन्वेषण कार्यक्रम थप लम्ब्याउन अनुरोध गर्दैछन्।

उनीहरूले न्यू हराइजनको बाटोलाई थोरै परिवर्तन गरेर काइपार क्षेत्रमा रहेका अन्य पिण्डहरूको अध्ययन कार्य अघि बढाउन सकिने आशा गरेका छन्।

न्यू हराइजन यानमा अर्को एक दशक भन्दा बढीको लागि पर्याप्त इन्धन र विद्युतीय ऊर्जा रहने वैज्ञानिकहरूको अपेक्षा छ।

त्यसमा रहेको प्लुटोनियम ब्याट्रीको सहायताले न्यू हराइजन सौर्य मण्डलबाट बाहिरिन समेत सक्ने बताइएको छ। बिबिसीबाट

सम्बन्धित खबर