बन्द कोठाभित्र सुत्केरी महिलाको मृत्यु

Diyo post  

साँखु, १९ पुस । काठमाडौँको शङ्खरापुर नगरपालिकामा बन्दकोठाभित्र सुतिरहेको अवस्थामा सुत्केरीको मृत्यु भएको छ ।

शङ्खरापुर नगरपालिका–७ सुकेखोलामा बुधबार राति परिवारसँग सुतेकी ३२ वर्षीया विन्दु मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार सुकेखोलाको एक घरमा भाडामा बस्दै आएकी मगर पाँच महीनाकी छोरीसहित बुधबार राति सुत्ने बेलामा कोठाभित्र दाउरा र कोइला बालेर सुतेकी थिइन् । श्रीमान् र तीन छोरीसहित पाँचजनाको परिवार एउटै कोठामा सुतेका उनीहरूमध्ये श्रीमतीको मृत्यु भएको हो ।

खबर लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनास्थलको अवलोकनपश्चात शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइएको जानकारी दिएको छ ।

मृतक मगरको पाँच वर्षीय छोरी एउटा र अन्य साना दुई छोरी छन् । घटनाको प्रकृति हेर्दा चिसो भुईंमा र कोठाको झ्यालढोका सबै बन्द गरी दाउरा बालेर सुतेकाले निसास्सिएर मृत्यु भएको हुनसक्ने आशङ्का रहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए ।

मृतक मगरको शव परिक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएका छ । पोस्टमार्टम रिपोर्टपछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर