काठमाडौँ, १९ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा थप लगानी गर्न अमेरिकालाई आग्रह गरेका छन् ।
नेपालका लागि अमेरिकी राजदुत रेण्डी डब्लु बेरीसँग विहीबार उर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले नेपालमा शान्ती प्रक्रिया र संविधान निर्माणको कामहरु भैसकेकोले लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।
कानुनी जटिलताका कारण मिलेनियम च्यालेञ्ज कर्पोरेशन ( एमसीसि) परियोजनालाई रोकिने अवस्था आउन नदिने बताउँदै मन्त्री केसिले उक्त परियोजना समयभित्र नै पुरा गर्नेगरि सरकारले तयारी थालिरहेको जानकारी गराएका छन् ।
मन्त्री पुनले आर्थिक विकासको गतिका आधारमा ऊर्जा मन्त्रालयले ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गरेको बताउँदै नेपाललाई १० वर्षमा १५ हजार मेगावाट बिजुली आवश्यक हुने जानकारी दिए । आफू ऊर्जामन्त्रीका रुपमा कार्यभार सम्हालेसँगै प्रसारण लाइनको गुरुयोजना सार्वजनिक गरेकोसमेत उनले बताए ।
मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता लगानी र आर्थिक विकास रहेको भन्दै त्यसका लागि नेपाललाई लगानी आवश्यक हुने भएकाले अमेरिकन लगानीकर्तालाई नेपालमा लगानीको लागि वातावरण बनाइदिन आग्रह गरे ।
भेटमा अमेरिकी राजदूत बेरीले नेपाल र अमेरिकाबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको बताउँदै नेपालको विकासमा सक्दो सहयोग उपलब्ध गराउने धारणा व्यक्त गरे।
ऊर्जा क्षेत्रको महत्वपूर्ण आधारस्तम्भका रुपमा रहेको प्रसारण लाइनमा एमसिसिमार्फत लगानी गरिएको र सो परियोजना निर्धारित समयमै सम्पन्न हुने गरी काम गर्न आग्रह गरे ।