काठमाडौं, पुस २२ । सहित स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा आज दुई खेल हुँदै छन् । लिग चरणको अन्तिम खेलमा भिड्न लागेका विभागीय टिम आर्मी र थ्री स्टार क्लबको शीर्ष तीन भित्र स्थान पक्का गर्ने लक्ष सहित मैदानमा उत्रदै छन् ।
सातदोबाटोको एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा थ्री स्टारले हिमालयन शेर्पा क्लबसंग प्रतिस्पर्धा गर्नेछ । उपाधिको बलियो दाबेदार मानिएको थ्री स्टार शीर्ष तीन भित्र पर्न संघर्षरत देखिएको छ ।
संकटासंग पराजित हुँदै उपविजेता बन्न बञ्चित थ्री स्टारलाई शीर्ष तीनभित्र पर्न हिमालयन शेर्पालाई पराजित गर्नैपर्ने दबाब छ । हिमालयन शेर्पा समेत लिगको अन्तिम खेलमा थ्री स्टारलाई हराउँदै शीर्ष ६ भित्र रहँदै लिगको अन्त्य गर्न चाहन्छ ।
थ्री स्टार २३ अंक सहित तेस्रो स्थानमा छ । शेर्पा १७ अंक सहित सातौ स्थानमा रहेको छ ।
सोही समयमा एपीएफको हलचोक मैदानमा हुने अर्को खेलमा त्रिभुवन आर्मी र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । तालिकाको पुछारमा रहेको मछिन्द्रलाई हराउँदै आर्मी शीर्ष तीनमा आफ्नो दाबेदारिता प्रस्तुत गर्न चाहन्छ । उपाधि होडबाट बाहिरिसकेपछि उसले शीर्ष तीनभित्र पर्ने लक्ष्य रहेको बताउँदै आएको थियो ।
थ्री स्टारको हारको समिकरण र मछिन्द्रमाथिको जितले आर्मीलाई शीर्ष तीनमा राख्ने सम्भावना बाँकीनै छ । आर्मी २२ अंक सहित चौथो स्थानमा छ । मछिन्द्र ७ अंक सहित १३ औ स्थानमा छ ।