कांग्रेस वरिष्ठ नेता पौडेलको निर्देशन, ‘म पौडेल पक्ष र तँ देउवा पक्ष भनेर नहिँड्नु’

Diyo post  

चितवन, २२ पुस । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । ।

प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा उनको निवास खैरहनीमा नेपाली काङ्ग्रेस चितवनले आयोजना शोकसभालाई सम्बोधन गर्दै गुटगत राजनीतिको अन्त्य गर्न कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

महासमितिको विैठकपछि पार्टीभित्र एकताको सन्देश आएको भन्दै म देउवा तँ पौडेल भनेर नहिँड्न कार्यकर्तालाई अनुरोध गरेका छन् । कांग्रेसभित्र गुटगत राजनीतिको अन्त्य भएमा आगामी निर्वाचनबाट समृद्धीको नेतृत्व कांग्रेसले गर्ने बताए ।

पार्टी एक ढिक्का बन्ने विश्वास दिलाउँदै उनले भने, “इमान्दार भएर पार्टीमा लाग्नुस् तपाईँको मुल्याङ्कन पार्टीले गर्छ ।” काङ्ग्रेस सङ्कटमा रहेको र सुधार्नु पर्ने बताउँदै उनले भने, “माथिल्लो तहमा हामी मिल्यौँ तल्लो तहमा तपाईँहरु मिल्नुस् ।”

मुलुकमा लोकतन्त्रलाई साकार पार्ने काम र जनतालाई समृद्धि दिन काङ्ग्रेसले मात्र सक्ने उनको दावी थियो । सो अवसरमा नेता पौडेलले नेपाली काङ्ग्रेस चितवनका पूर्वउपसभापति समेत भएका अधिकारीको निधनले सिङ्गो काङ्ग्रेसमा अतुलनीय क्षेती पुगेको बताए

अधिकारी परिवारले लमजुङबाटै राजनैतिक र सामाजिक परिवर्तनमा ठूलो भूमिका निर्वाह गरेको भन्दै उनले हलो क्रान्तिको अभियानमा अधिकारी परिवारको अतुलनीय योगदान रहेको पनि बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, निवर्तमान सभापति टेकप्रसाद गुरुङ, पूर्वसभापतिहरु रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, टिकाराम न्यौपाने, कृष्णलाल सापकोटा, नेपाली काङ्ग्रेस मकवानपुरका पूर्वसभापति रघुनाथ न्यौपाने लगायतले बोलेका थिए ।

सम्बन्धित खबर