निलम्वित सांसद भएको ४ दिनमा रेशम चौधरीको पेशी तोकियो

Diyo post  

काठमाडौँ, पुष २३ । टीकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशमलाल चौधरीलाई अदालतले पेशी तोकेको छ । सांसदको रुपमा सपथ ग्रहण गरेको चौथो दिनमा नै उनलाई अदालतले पेशी तोकेको हो । न्यायधीश इश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा उनको मुद्दाको पेशी परेको हो ।

तीन बर्ष देखि पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा रहेका चौधरीलाई पुष १९ गते सिंहदरबार ल्याई सपथ ग्रहण गराइएको थियो । सपथ ग्रहण पछि उनलाई निलम्वित सांसदका रुपमा पुन डिल्लीबजार कारागार पठाइएको थियो ।

उनको सपथलाई लिएर चौतर्फी विरोध र सरकारको आलोचना भएतापनी उनि स्वयम् र मधेशी दलका नेताहरुले टीकापुर घटनामा आफ्नो कुनै सहभागिता र संलग्नता नभएको दावि गरेको छ । पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पनि सामाजिक संजालमार्फत रेशम चोधरीको पक्षमा अभिव्यक्ति दिएका थिए ।

चौधरी वारेसमार्फत उम्मेदवारी दर्ता गराएर २०७४ को आमनिर्वाचनमा कैलाली–१ बाट सांसद निर्वाचित भएका हुन ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालक सहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरीसहित २६ जनालाई विपक्षी बनाइएको छ । यही मुद्दामा लक्ष्मण थारु सहित २३ जना जिल्ला कारागार कैलाली र दुई नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् ।

सम्बन्धित खबर