काठमाडौँ, पुष २३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो नाम क्रिश्चियन धर्मसँग जोड्ने प्रयास भईरहेको भन्दै आपत्ति जनाएका छन् ।
नेकपाका वरिष्ठ नेता नेपालले सरकारको ‘सुःखी नेपालीः समृद्ध नेपाल’ बनाउने अभियानमा अन्तराष्ट्रिय साथ र सहयोग जुटाउन आफू ‘एशीया प्यासिफिक समिट’मा सहभागी भएको स्पष्टिकरण दिए । सोमबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा विवादास्पद ‘एशीया प्यासिफिक समिट’मा नेता नेपाल सहभागी भएको भन्ने विषय काँग्रेस सांसद दिव्यमणि राजभण्डारीले प्रवेश गराएका थिए । सोही सम्बन्धमा स्पष्टिकरण दिने क्रममा वरिष्ठ नेता नेपालले नेपाललाई विश्वमा चिनाउन आफू सो समिटमा सहभागी भएको दावी गरे । उनले सो समिटमा सहभागी भएको विषयलाई लिएर आफूमाथि कुत्सित मनासाय राख्ने काम भईरहेको भन्दै आपत्ति पनि जनाए ।
वरिष्ठ नेता नेपालले आफूले सबै धर्मलाई सम्मानका दृष्टिले हेर्ने गरेको पनि स्पष्ट पारे । उनले एशीया प्यासिफिक समिटमा पहिलो पटक सहभागी हुने विपी कोइराला भएको जवाफ पनि काँग्रेस सांसद राजभण्डारीलाई दिएका थिए । सो समिटमा काँग्रेस नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा सहभागी हुँदा विवाद नगर्ने तर आफू सहभागी हुँदा विरोध गर्ने काम भएको वरिष्ठ नेता नेपालको गुनासो छ ।