१ करोड ७१ लाख कुम्ल्याएर मालपोतका लेखा अधिकृत फरार

Diyo post  

चितवन, पुष २४ । मालपोत कार्यलय चितवनका लेखा अधिकृत रिठ्ठे दर्जी कार्यलयको १ करोड ७१ लाख रकम हिनामिना गरि फरार भएका छन् ।

जग्गा रजिस्ट्रेशन वापत आएको रकम व्यक्तिगत रुपमा प्रयोग गरि दर्जी फरार भएका हुन् । आन्तरिक लेखा परिक्षणका क्रममा रकम बेरुजु देखिएपछि लेखा अधिकृत फरार भएका हुन् । व्यक्तिगत रुपमा प्रयोग भएतापनी आन्तरिक लेखा परिक्षकले उनले हिनामिना गरेको रकम तत्काल भुक्तानी गर्न पटकपटक चिठि काटेका थिए ।

बारम्बार चिठी पठाउँदासमेत लेखा अधिकृत दर्जीले वेवास्ता गरेपछि लेखा परिक्षक २४ घण्टाभित्र रकम दाखिला गर्नको लागि पत्र काटेको थियो । २४ घण्टे पत्र गएपछि लेखा अधिकृत दर्जीले व्यक्तिगत रुपमा खर्च गरेको र आफुले सो रकम भुक्तानी गर्ने बताउँदै तीर्न नसके कानुनअनुसारको सजाय भोग्न तयार भएको बताए ।

दर्जी गत मंसीर २५ गतेदेखि नै फरार भएको जिल्ला मालपोत कार्यलय चितवनले जनाएको छ । सो मालपोत कार्यलयमा दैनिक २ करोडभन्दा बढी राजस्व उठ्ने बताइएको छ । उनी कार्यलयमा उपस्थित नभएपछि कार्यलय प्रमुखसहित मालपोतका कर्मचारीहरु उनको घरमा पुगेका थिए । तर, उनलाई कार्यलयले दिएको मोटरसाईकल र मोबाइल फोन घरमै छाडेर वेपत्ता भएको पाइएपछि उनको खोजी भइरहेको छ ।

जनताबाट आएको राजस्व रकम हिनामिना गरेर फरार भएपछि दर्जीको नाममा रहेको भरतपुर १० ‘ग’ को कित्ता नं ६२९ को १६ धुर जग्गा मालपोत ऐन २४ को दफा ७ बमोजिम रोक्का गरिएको छ । अख्तियारमा समेत आवश्यक कारर्वाहीका लागि लेखी पठाइएको छ ।

दर्जीको सम्पत्तिबारे थप अनुसन्धान भइरहेको कार्यालय प्रमुख शर्माले बताए । तर प्रहरीलाई भने अहिलेसम्म जानकारी गराइएको छैन । यसअघि गएको जेठमा मालपोत कार्यालयबाटै कार्यालय सहायक शंकरप्रसाद धिताल २५ हजार घूससहित रंगेहात पक्राउ परेका थिए ।

सम्बन्धित खबर