काठमाडौँ, पुस २५ । नेपाल–फ्रान्स परामर्श बैठक आज बुधबार काठमाडौंमा हुँदैछ ।
दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा हुन लागेको उक्त बैठकमा भाग लिन फ्रान्सका विदेश सचिव मोरिस गर्दो मोन्तानको नेतृत्वमा पाँच सदस्यीय फ्रान्सेली प्रतिनिधिमण्डल आज नेपाल आइपुग्ने छ ।
फ्रान्सका विदेश सचिव आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीको निमन्त्रणामा आज अपराह्न राजधानी आइपुग्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बैठकमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउने तथा पारस्परिक हित र लाभका समग्र विषयमा विचार विमर्श हुने सचिव वैरागीले बताए ।
नेपाल–फ्रान्स कूटनीतिक सम्बन्धको ७०औँ वर्ष प्रवेश आगामी अप्रिल २० तारिखमा हुने तथा त्यसपछि वर्षभरि दुवै देशले आयोजना गर्ने विविध कार्यक्रमबारे पनि आफूहरूबीच छलफल हुने सचिव वैरागीले बताए ।
बैठकमा अर्थ, उद्योग र वाणिज्य, वन तथा वातावरण, भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारी सहभागी हुनेछन् ।
बैठकपछि दुवै देशका परराष्ट्र सचिवले परराष्ट्र मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । यसअघि सचिव वैरागीले आफ्ना समकक्षीसँग गत कात्तिक २६ गते पेरिसमा भेटवार्ता गरेका थिए ।