हिन्दुराष्ट्रको माग पुरा नभए चैत्र १ गतेदेखि जनसंघर्ष गर्ने कमल थापाको तयारी

Diyo post  

काठमाडौँ, पुस २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले सरकारसमक्ष राखेको हिन्दुराज्यको पुनस्थापनासम्वन्धी मागहरु सम्वोधन नभए चैत्र १ देखी जनसंघर्ष शुरु गर्ने चेतावनी दिएका छन् ।

विहीबार रिपोर्ट्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले जनसंघर्षको तयारी स्वरुप ७ वटै प्रदेशमा प्रशिक्षण कार्यक्रमहरुसमेत शुरु गरिसकेको बताएका छन् । उनले फागुन सात गते प्रजातन्त्र दिवसको अवसर पारेर ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बताएका छन् । उनले फागुन १५ देखि मसान्तसम्म मेचि महाकाली स्वाभिमान यात्रा समेत गर्न लागेको बताएका छन् । सो अभियानमा हिन्दु धर्मका बारेमा प्रचार गर्ने र धर्मको बारेमा सबैलाई बुझाउँदै मेचीमहाकालीको यात्रा गर्ने बताए ।

वर्तमान समयमा राष्ट्रिय एकतासमेत खतरामा परेको भन्दै यसका लागि सबै हिन्दुवादी अनुयायीहरुलाई एक ठाउँमा आउनसमेत आह्वान गरेका छन् । देशमा व्याप्त अराजकता र अशान्तीले देशको विकासमा खलल पुर्याएको र वर्तमान सरकारले उचित कायापलट गर्न नसकेको भन्दै अध्यक्ष थापाले आलोचना गरेका छन् ।

अध्यक्ष थापाले भोली पुष २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सार्वजनिक विदा दिन समेत प्रधानमन्त्री ओलीसंग आग्रह गरेका छन् । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले चियापान समारोह राखेको र त्यसमा दश हजार जनालाई समेत निम्ता गरिएको उनले बताए । भोलीको चियापान कार्यक्रममा सम्पुर्ण हिन्दुवादी अनुयायीहरुलाई उपस्थित हुनका लागि समेत आह्वान गरेका छन् ।

सम्बन्धित खबर