‘घरघरमा ग्याँसको पाइप’ सार्थक बन्दै, झापामा मिथेन ग्याास उत्पादन गर्ने तयारी हुँदै

Diyo post  

चन्द्रकला भण्डारी
भद्रपुर, पुस २७ । झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् ।

कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो ।

विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक÷पटक छलफल गरी नगरबाट निस्कने ‘फोहरबाट मोहर’ बनाउन यस्तो निष्कर्ष निकालेका हृुन ।

अर्जुनधारा र विर्तामोडले नगरपालिकाले कनकाई नगरपालिकालाई नै कामको अख्तियार प्रदान गरेकाले ग्यास प्लान्ट सञ्चालन गर्ने स्थानसम्म पुग्नका लागि बाटो बनाउने र नजिकै रहेको सुरुङ्गा खोलामा बाँध बाँध्ने काम भइरहेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताएका छन् ।

ग्यास प्लान्टमा स्थानीयवासीकै स्वामित्व रहने गरी शेयर बिक्रीसमेत खुला गरिएको छ । हालसम्ममा ८० लाख बराबरको शेयर बिक्री भइसकेको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा कनकाई नरपालिकाका वडाध्यक्ष पर्शुराम गिरीले जानकारी दिएका छन् ।

उक्त समितिले कार्यसम्पादनका लागि मिनाल तिम्सिनाको संयोजकत्वमा विर्ता, अर्जुन, कनकाई नवीकरण ऊर्जा समिति गठन गरेर काम शुरु गरेको हो । उक्त समितिले पाँच करोड बराबरको शेयर बिक्री गर्ने लक्ष्य लिएको छ ।

प्रदेश नं १ मा पहिलोपटक शुरु हुन लागेको ग्यास प्लान्टमा तीनवटै नगरपालिकाका जनताले शेयर सदस्य बन्न पाउने प्रावधान राखिएको छ । १५ करोडको लगातमा निर्माण हुने उद्योगमा झण्डै दुईसय स्थानीयवासीले रोजगारी पाउने जानकारी दिँदै उनले भने, “फोहर व्यवस्थापनका लागि पैसा खर्च गर्नुभन्दा त्यसलाई नै ऊर्जामा परिणत गरियो भने आम्दानी र रोजगारी दुबै हुने ठानेर मिथेन ग्यास उद्योगको परिकल्पना गरिएको हो ।” यहाँबाट निस्कने ग्यासलाई सिलिण्डर वा पाइपलाइनमार्फत तीनवटै नगरपालिकाका जनताको घरघर पु¥याइने वडाध्यक्ष गिरीले बताएका छन् ।

यसका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्र काठमाडौँसंग पनि कुरा भइरहेको र एक हप्ताभित्र त्यसको प्रतिक्रिया आउने बताएका छन् । चालु आर्थिक बर्षभित्र शुरु गरिने ग्याास प्लान्ट आगामी ०७६÷०७७ सम्म संचालनमा ल्याइने लक्ष्य लिइएको छ ।
हाल विर्तामोड नगरपालिकाबाट दैनिक ६ टन, अर्जुनधारा र कानकाई नगरपालिकाबाट दैनिक तीन टन घरेलु फोहोर निस्कने गरेको छ । कुहीने र नकुहीने फोहोरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने र कुहिने फोहोरबाट मिथेन ग्याँस निकालिने बताइएको छ ।

प्लाष्टिकबाट पेट्रोल निकालिने

नकुहीने फोहोमा प्लाष्टिकजन्य पदार्थबाट पेट्रोलियम पदार्थ निकालिने तयारी समेत भइरहेको कनकाई नगरपालिकाका प्रमुख पोखरेलले बताएका छन् । यसका लागि सम्भाव्यताको अध्ययन गर्ने र वैज्ञानिकहरु संग छलफलसमेत भइरहेको बताएका छन् । तीनवटा नगरपालिकाबाट जम्मा भएका प्लाष्टिकलाई पाइरोलाइसिन प्रविधिबाट पेट्रोल निकाल्न लागिएको हो ।

नेपालमै पहिलोपटक प्लाष्टिकबाट पेट्रोल निकाल्ने उद्योग संचालन गर्ने प्रयास प्रदेश एकले गर्न लागेको हो । त्यसका लागि प्रदेश सरकारले एक करोड बजेट समेत विनियोजन गरिसकेको छ ।

सम्बन्धित खबर