काठमाडौँ, पुस २७ । नेपाल विद्यार्थी संघको १२ औँ अधिवेशन अनिश्चित भएपछि उपाध्यक्ष सहित सात जनाले राजिनामा दिएका छन् । बारम्बार मिति घोषणा गर्दै सार्दै गरिएपछि संस्थापन पक्षका सात जना पदाधिकारीहरुले राजिनामा बुझाएका हुन् ।
शुक्रबार पार्टी सभापती शेर बहादुर देउवासंग भेट गरि तीन जना उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसीले राजिनामा बुझाएका हुन् । त्यस्तै महामन्त्री सरोजकुमार थापा र सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनीले राजिनामा बुझाएका हुन् ।
संगठनको विधानअनुरुप संगठन सञ्चालित नभएकाले सामूहिक राजीनामा दिएको उपाध्यक्ष शाहीले बताए।
निर्वाचित कार्य समितिको कार्यकाल पटक–पटक थपिँदा पनि १२औं महाधिवेशन हुन नसकेकाले राजीनामा दिएको उनले बताए। संघको महाधिवेशनको लागि शनिबार (पुस २८) देखि ३ दिनका लागि मिति तोकिएको थियो।
यसबीचमा १६ जिल्लाको मात्रै अधिवेशन सम्पन्न हुन सकेको छ। अधिवेशन भएका केही जिल्लामा विवाद कायमै छ। दोश्रोपटक थपिएको म्यादले संघको कार्यकाल माघ २ सम्मका लागि छ।