संचारमाध्यमलाई मन्त्री पोखरेलको प्रश्न- सरकारले राम्रो काम पनि गरेको छ त्यसको प्रचार खोई ?

Diyo post  

चितवन, पुस २८ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले संचार क्षेत्रलाई जनताको माझमा आशा जगाउने किसिमको सन्देशहरुको प्रवाह गराउन आग्रह गरेका छन् ।

चितवनको ग्रेट एफएमा २४ घण्टे प्रसारणको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले पछिल्लो समय संचारमाध्यमहरुले तथ्यहिन र भ्रमपुर्ण समाचार हरु प्रसारण गरिरहेको हुँदा यसो नगर्न आग्रह गरेका हुन् ।

संचारमाध्यमहरुले प्रसारण गर्ने सन्देशहरुबाट नै जनताले सुचना पाउने भन्दै भ्रम सुचनाको सम्प्रेषण नगर्न आग्रह गरेका हुन् । यसो गर्दा जनतामा अन्यौलता उत्पन्न हुनेसमेत उनले बताए ।

वर्तमान समयमा सरकारका राम्रा कामहरुको भन्दा नराम्रा कामहरुको चर्चा बढी भइरहेको उनले बताए । ‘केही कमजोरी सरकारको पनि छ तर सरकारले पनि केही नगरी त बसेको छैन नि’, उनले भने, हजारौँ राम्रा काम गर्दा कहिँ त कमजोरी भइहाल्छ, त्यसलाई सुधार्ने कोसिस पनि गर्दै छौँ ।’

लोकतन्त्रमा जनताले गुण र दोषका आधारमा सरकारको मुल्यांकन गर्ने उनले बताए । तर संचारमाध्यमहरुले गुणको भने चर्चा नगर्ने तर दोषहरुलाई भने तीललाई पहाड बनाएर प्रस्तुत गर्ने शैली रहेकोले त्यसबाट संचारमाध्यमहरुको जिम्मेवारमाथि प्रश्न उठ्ने उनले बताए ।

देश विकासमा संचार जगतले अमुल्य भुमिका खेल्ने भएकोले जिम्मेवारपुर्वक काम गर्न समेत मन्त्री पोखरेलले निर्देशन दिएका छन् । राजनीतिक दल, नेता, राज्यका विभिन्न संयन्त्र मध्य चौथो अंगका हिसाबले देश विकास र विनाशको जिम्मेवारी संचार क्षेत्रलाई पनि रहेको उनले बताए ।

सम्बन्धित खबर