डा. केसीको अवस्था जटिल, नाइटभिजन हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै

Diyo post  

काठमाडौँ, माघ ३ । १६ औँ अनशन शुरु गरेको ९ दिन बित्दा डा. गोविन्द केसीको अवस्था जटिल बनेको छ । स्वास्थ्य अवस्था गम्भिर बन्दै गएपछि डा. केसीलाई आज राति काठमाडौँ ल्याइने भएको छ । उनलाई उपचारका लागि काठमाडौँ ल्याइन लागिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा सरकारी चिकित्सकको टोली विहीबार दिउँसो इलाम पुगेका थिए । इलाम पुगेर डा. केसीको अवस्था बुझेका चिकित्सकको टोलीले उनको अवस्था निकै गम्भिर भएको निष्कर्ष निकाल्दै काठमाडौँ आउन अनुरोध गरेका थिए । चिकित्सक टोलीको आग्रहमा डा. केसी काठमाडौँ आउन सहमत भएका हुन् ।

इलाम पुगेर अनशन शुरु गरेका डा. केसीलाई भद्रपुर सम्म एम्वुलेन्समा ल्याइने र त्यहाँबाट नेपाली सेनाको नाइटभिजन हेलीकप्टरबाट काठमाडौँ ल्याइने बताइएको छ ।

चिकित्साशास्त्र विधेयकमा सरकारले पुर्व सर्तअनुसार पारित नगरेको भन्दै डा. केसीले अनशन शुरु गरेका थिए । उनले सरकारले आफुसंग गरेको सम्झौता कार्यन्वयन नगरेको आरोप लगाएका थिए । स्वास्थ्य शिक्षाको क्षेत्रलाई माफियाकरण गर्न खोजिएको भन्दै तत्काल विधेयकलाई पुर्वसर्तअनुसार लागु गर्न उनले माग राखेका छन् ।

सम्बन्धित खबर