इजिप्टमा महिलाहरू पनि खान थाले यौन इच्छा बढाउने ‘फिमेल भायग्रा’

Diyo post  

इजिप्ट महिलामा यौनेच्छा बढाउने औषधिको उत्पादन र वितरण गर्न अनुमति दिने पहिलो अरब राष्ट्र बनेको छ।

बीबीसीकी स्याली नबिलले इजिप्टजस्तो रूढीवादी देशमा यसको बजार कस्तो छ भनेर बुझेकी छन्। पढौँ यो विवरण।

ढुकुढुकी बढ्यो

“मलाई निद्रा र रिङ्गटा लागेजस्तो भयो र मुटुको ढुकुढुकी बढ्यो।” ‘फिमेल भायग्रा’ भनिएको औषधि सेवन गरेपछि लेलाले यस्तो अनुभव गरिन्। महिलाका लागि बनाइएको सो औषधिको रासायनिक नाम फ्लिब्यान्सेरिन हो।

पहिलो पटक सो औषधिले तीन वर्षअघि अमेरिकामा प्रयोगको अनुमति पाएको हो। एउटा स्थानीय औषधि कम्पनीले अहिले इजिप्टमा त्यसको उत्पादन गर्दैछ।

लेला उनको छद्मनाम हो। पैँतीस वर्षको छेकोकी उनी एउटा रूढीवादी परिवारकी गृहिणी हुन्। इजिप्टका अरू महिलाले जस्तै उनी पनि यौनसँग सम्बन्धित विषयमा कुरा गर्दा आफ्नो परिचय खुलाउन चाहन्नन्। उनको समाजमा यौनको कुरालाई सहज रूपमा लिइँदैन।

विवाह भएको झन्डै १० वर्षपछि उत्सुकतावश आफूले सो औषधि प्रयोग गर्ने निर्णय गरेको उनी बताउँछिन्।

लेला स्वस्थ छिन्। तर उनले सो औषधि चिकित्सकको सिफारिसविनै किनेकी हुन्। त्यसो गर्नु इजिप्टमा सामान्य हो।

उनी भन्छिन्, “औषधिपसलेले मलाई प्रत्येक राति एउटा चक्की औषधि केही हप्ता खान भने। उनले त्यसबाट कुनै नराम्रो असर नहुने बताए।”

इजिप्टमा पति र पत्नीबीच सम्बन्धविच्छेद हुने दर बढिरहेको छ। स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूले दम्पतीका बीच यौन समस्यालाई त्यसको कारण मानेका छन्।

औषधि उत्पादकले १० इजिप्टेली महिलामध्ये तीन जना कम यौनेच्छाबाट पीडित भएको बताएको छ। तर यो अनुमान मात्र हो। त्यहाँ यसबारे तथ्याङ्क सङ्कलन गर्नु सजिलो छैन।

सो कम्पनीका प्रतिनिधि अश्रफ अल माराघी भन्छन्, “यो उपचार यहाँ अत्यावश्यक छ। यो एउटा क्रान्ति नै हो।”

बिस्तारै रिङ्गटा र निद्रा लागेको जस्तो हुने असर हराउँछ भन्ने उनको दाबीसँग चिकित्सकहरू असहमत छन्।

सो औषधिले रक्तचाप डरलाग्दो तहसम्म घटाइदिने र मुटु एवम् कलेजोका समस्या भएका व्यक्तिलाई हानि पुर्‍याउन सक्ने चेतावनी एक औषधिव्यवसायी दिन्छन्।

उत्तरी कायरोमा एउटा औषधिपसल सञ्चालन गर्ने मुराद सदिकका अनुसार उनी औषधि किन्न आउने ग्राहकहरूलाई त्यसका नराम्रा असरबारे पनि बताउँछन्।

‘सबै मानसिक हो’

सदिकको पसलमा टाँगिएको विज्ञापनमा फ्लिब्यान्सेरिनलाई ‘गुलाबी चक्की’ भनिएको छ। पुरुषले सेवन गर्ने भायग्रालाई इजिप्टमा ‘नीलो चक्की’ भन्ने गरिन्छ।

तर उत्पादकहरू सो औषधिलाई ‘फिमेल भायग्रा’ भन्नु उचित नहुने बताउँछन्। माराघी भन्छन्, “सञ्चारमाध्यमले त्यो नाम राखिदिएका हुन्, हामीले हैन।”

लिङ्गको उत्तेजनासँग सम्बन्धित समस्या हुँदा भायग्राले लिङ्गमा रक्तसञ्चार सुधारेर उपचार गर्छ।

तर फ्लिब्यान्सेरिन उदासीको उपचार गर्न विकसित एन्टिडिप्रेसन्ट औषधि हो र यसले मस्तिष्कमा रासायनिक तत्त्वको सन्तुलन कायम गराएर कामेच्छा बढाउँछ।

सेक्स थेरपिस्ट हेबा कट्ब पनि ‘फिमेल भायग्रा’ झुक्याउने शब्द हो भन्ठान्छिन्। उनले आफ्ना बिरामीहरूलाई त्यो औषधि दिने गरेकी छैनन्।

उनी भन्छिन्, “शारीरिक वा मानसिक समस्या भएका महिलामा यसले कहिल्यै काम गर्दैन।”

“महिलाका लागि यौन एउटा भावनात्मक प्रकिया हो। यो मनबाट सुरु हुन्छ। यदि पतिले दुर्व्यवहार गर्छन् भने महिलाले कहिल्यै स्वस्थ रूपमा यौनसम्बन्ध राख्न सक्दैनन्। औषधिले पनि काम गर्दैन।”

फ्लिब्यान्सेरिनको प्रभावकारिता एकदमै थोरै भएको र जोखिम लिनु नहुने उनको मान्यता छ।

उनी चेतावनी दिन्छिन् – रक्तचाप घटाउनु यसको एकदम गम्भीर असर हो। विवाहमा तनाव उत्पन्न भएपछि उनीहरूको यौनजीवन प्रभावित भएको उनको ठम्याइ छ।

बीबीसीबाट

सम्बन्धित खबर