‘हरेक दिन सरकार एक कदम अघि बढेको छ’ – प्रधानमन्त्री ओली

दियो पोस्ट  

काठमाडौँ, माघ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक, सामाजिक रुपान्तरण गर्दै समृद्धी हाँसिल गर्न बर्तमान सरकार हरेक दिन एक कदम अगाडी बढेको बताएका छन् ।

शनिबार कांग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेका पुर्वसांसद तीर्थराज भुसाललाई स्वागत गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका कामले तीव्रता पाएको र दिनदिनै उपलब्धिहरु हाँसिल गर्दै गएको स्पष्ठ पारेका छन् ।

नेकपाको संकल्प नै देशलाई आर्थिक समृद्धीको बाटोमा अगाडी बढाउने भएकोले सरकारले सोहीअनुसारको नीतिहरुलाई अवलम्वन गर्दै आएको बताएका छन् । उनले केही समयमा नै जनतामाझ भ्रम फैल्याउने र झुटको खेती गर्नेहरुको मुखमा बुझो लाग्ने समेत ठोकुवा गरेका छन् ।

वर्तमान स्थिति हेर्दा पनि नेपाल सबैभन्दा तीब्र आर्थिक वृद्धिदर भएको मुलुकका रुपमा देखिन थालेकाले सन् २०३० भित्र दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्धेश्यका साथ पार्टी र सरकार अगाडी बढेको बताएका छन् ।

आम नागरिकको बार्षिक प्रतिव्यक्ति आय ८ सय ५० अमेरिकी डलरबाट बढेर एक हजार डलर पुगेको समेत अवगत गराएका छन् । उनले सरकारमा आँकडामा खेल्ने नभई आँकडा परिवर्तन गर्दै सकारात्मक परिवर्तनको वहार ल्याउने पार्टी रहेको स्पष्ट पारेका छन् ।

सरकार गठन भएको एक वर्षभरि कानुन निर्माण र आन्तरिक व्यवस्थापनको लागि जुटेको कारणले गर्दा विकास निर्माणको कामले गति नलिएको स्वीकार गर्दै प्रधानमन्त्री ओलीले अबका दिनहरुमा सामाजिक र आर्थिक विकासको गतिले तीब्र रुप लिने प्रतिवद्धता ब्यक्त गरे ।