काठमाडौँ, माघ ७ । विश्वका सबैभन्दा वृद्ध व्यक्ति मासाजो नोनाकाको आइतबार निधन भएको छ । नोनाकाको एक सय १३ वर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
गिनिज वल्र्ड रेकर्डस्का अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा जापानको एउटा गाउँमा भएको थियो । उनको जन्म अल्बर्ट आइन्स्टाइनले प्रतिपादन गरेको सापेक्षताको सिद्धान्त प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो ।
गत वर्ष स्पेनका स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्युपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिएकोले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।
उनि शनिबारसम्म सामान्य जीवन बिताइरहेका थिए । उनले आइतबार देहत्याग गरेका थिए,’ उनकी नातिनी युकोलाई उद्धृत गर्दै जापानको क्योदो समाचार समितिले जनाएको छ ।
६ भाइ र एक बहिनीका दाजु नोनाकाले सन् १९३१ मा विवाह गरेका थिए । उनका पाँच सन्तान छन् । उनले आफ्नै गाउँमा एउटा होटेल सञ्चालन गरेका थिए । जीवनको उत्तराद्र्धमा टेलिभिजनमा कुस्ती हेर्ने र मिठाइ खाने उनको सोख थियो । सामान्यतया जापानीहरूको आयु लामो हुने गर्दछ । विश्वका धेरै वर्षसम्म बाँच्ने मानिसहरूको सूचीमा कैयौँ जापानी नागरिक रहने गरेको बताइन्छ ।
सबैभन्दा धेरै वर्ष बाँचेका जापानी नागरिक जिरोमी किमुरको एक सय १६ वर्षको उमेरमा सन् २०१३ मा निधन भएको थियो । इतिहासमा सबैभन्दा धेरै बाँच्ने व्यक्ति फ्रान्सका जेनी लुइस कालमेन्ट हुन् । उनको सन् १९९७ मा एक सय २२ वर्षको उमेरमा निधन भएको थियो । (एजेन्सी)