काँग्रेसकोे अवरोधपछि प्रतिनिधि सभा वैठक शुक्रबारसम्मको लागि स्थगित

Diyo post  

काठमाडौँ, माघ ८ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध पु¥याएपछि प्रतिनिधिसभा बैठक पुनः शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।

मंगलबार बोलाइएको प्रतिनिधिसभा बैठक काँग्रेसले १५ मिनेटको अन्तरालमा २ पटक अवरुद्ध पारेपछि संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभा बैठक आगामी शुक्रबार ११ गते अपरान्ह १ बजेसम्मका लागि स्थगित गरेको हो ।

काँग्रेसले पार्टीका पूर्व सभापतिद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको दुई वटा अस्पताल संघीय सरकारको मातहत ल्याउने निर्णय तत्काल गर्न माग गर्दै सोमबारदेखि संसद अवरुद्ध पार्न सुरु गरेको हो ।

मंगलबार पनि उनीहरुले प्रतिनिधिसभाको पहिलो बैठक रोष्टम घेराउ गरेर अवरुद्ध पारेका थिए भने १५ मिनेटपछि पुनः सुरु भएको दोस्रो बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५’ पेश गर्न पोडियमतर्फ अघिबढेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई घेरामा पारेका थिए ।

दोस्रो बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले मन्त्री पोखरेललाई राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पेश गर्न अनुमति दिएका थिए । तर काँग्रेस सांसदहरुको अवरोधका कारण सो विधेयक प्रतिनिधिसभा बैठकमा पेश हुन सकेन ।

काँग्रेसले तनहुँमा रहेको जिपी कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघीय सरकारले मातहत ल्याउने निर्णय नगरेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिँदै आएको छ ।

सम्बन्धित खबर