अमेरिकाले भेनेजुएलाका विपक्षी नेतालाई अन्तरिम राष्ट्रपति मान्ने

Diyo post  

अमेरिकी राष्ट्रपतिले डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता हुवान गुएइदोलाई आफूले अन्तरिम राष्ट्रपतिको रूपमा मान्यता दिने बताएका छन्।

३५ वर्षीय गुएइदोले राजधानी काराकासमा आफूलाई भेनेजुएलाको ुनिमित्त नेताु घोषणा गरेलगत्तै ट्रम्पले उनलाई समर्थन गरेका हुन्।

तर राष्ट्रपति निकोलस मडुरोले पछिल्लो घटनाक्रमपछि अमेरिकी कदमको कडा आलोचना गरेका छन्।

उनले अमेरिकासितको कूटनीतिक सम्बन्ध तोडिदिने चेतावनी दिँदै त्यो देशका कूटनीतिज्ञहरूलाई २४ घन्टाभित्र भेनेजुएला छोड्न आदेश दिएका छन्।

दक्षिण अमेरिकाका अन्य देशहरू, ब्राजिल, कोलम्बिया र पेरुले पनि गुएइदोलाई भेनेजुएलाको वैध राष्ट्रपतिको मान्यता दिएका छन्।

वर्तमान राष्ट्रपति निकोलस मडुरोविरुद्ध देशभरि लाखौँ मानिसहरूले प्रदर्शन जारी राख्दा त्यहाँ नयाँ संक्रमणलाई विदेशी शक्तिहरूले समर्थन गरेका हुन्।

बीबीसीकी बार्बरा प्लेट अशरले अमेरिकी अधिकारीहरूले मडुरोले सत्ता हस्तान्तरणको शान्तिपूर्ण संक्रमणलाई स्वीकार गर्ने अपेक्षा गरेको भन्दै सबै दक्षिण अमेरिकी देशहरूले विपक्षी नेतालाई समर्थन नगरेका बताईन् ।
मडुरोको कार्यकालमा भेनेजुएलाको अर्थतन्त्र धरासायी जस्तै हुन पुगेको छ। चर्को मुद्रास्फिती, ऊर्जा र दैनिक उपभोग्य वस्तुहरूको अभाव त्यहाँका मुख्य समस्या हुन्।

राष्ट्रपति मडुरोले आफ्नो सत्ता हत्याउने प्रपञ्च गरिरहेको भन्दै विपक्षी दलविरुद्ध आपराधिक अनुसन्धान थाल्न सर्वोच्च अदालतलाई आदेश दिएका छन्।

भेनेजुएलाका सैन्य फौजले मडुरोलाई आफ्नो समर्थन रहने प्रतिबद्धता जनाएका छन्।

भेनेजुएलाभरि लाखौँ मानिसहरूले प्रदर्शन चर्काएपछि राष्ट्रिय सभाका प्रमुख हुवान गुएइदोले आफूलाई निमित्त नेता घोषणा गरेका हुन्।

भेनेजुएलामा चर्किएका पछिल्ला प्रदर्शनहरूको क्रममा आठ जनाको ज्यान गइसकेको छ। बीबीसीबाट

सम्बन्धित खबर