काठमाडौँ, माघ १० । तात्कालिन माओवादी लडाकु र द्वन्दपीडित सुरक्षाकर्मीले मोर्चाबन्दी गरेर अगाडी बढ्ने निर्णय गरेका छन् । पुर्वमाओवादी लडाकुले माघ १० गते मनाउने ‘कालो दिवस’ लाई वहिर्गमनमा परेका पुर्व सुरक्षाकर्मीहरुले पनि सहयोग गर्ने भएका हुन् ।
पुर्वलडाकु र पुर्वसुरक्षाकर्मीहरुले एउटै माग राखेर छुट्टाछुट्टै आन्दोलन गरिरहेको अवस्थामा अब एक भएर आन्दोलनमा सहभागी हुने भएका हुन् । शान्ति प्रक्रिया पश्चात भएको सेना समायोजनको क्रममा अयोग्य भनि वहिर्गमित बनाइएका तात्कालिन जनमुक्ति सेनाका लडाकुहरुले आफुहरुको व्यवस्थापनको माग राख्दै आन्दोलन गरिरहेका छन् भने जनयुद्धताका घाइते तथा अंगभंग भएका सुरक्षाकर्मीको समुहले आफुहरुको उपचार, रोजगारी, राहत लगायतका मागहरु राखि आन्दोलन गरिरहेका छन् ।
वि.स २०६६ साल माघ १० गते जनसेनालाई समायोजन गरि शान्ति प्रक्रियामा सघाउ पुर्याउन आएको अनमिनले ४ हजार ८ जना माओवादी लडाकुलाई अयोग्य घोषणा गरेको थियो । त्यसै दिनलाई अयोग्य घोषणा भएका लडाकुहरुले कालो दिनको रुपमा लिँदै आएका छन् ।
‘कालो दिन’को सम्झनामा आज दिउँसो माइतीघर मण्डलामा गर्ने प्रदर्शनमा द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले पनि साथ दिने दाबी बहिर्गमित जनमुक्ति सेना नेपालले जनाएको छ ।
बहिर्गमित लडाकुहरुले माघ ११ गते केन्द्रीय समितिको बैठक बस्ने र १२ गते ‘शान्ति प्रक्रिया र द्वन्द्व व्यवस्थापन’ विषयमा काठमाडौंमा अन्तर्क्रिया गर्ने लगायतका कार्यक्रम पनि तय गरेका छन् ।