पुर्वमाओवादी लडाकुद्धारा माइतीघरमा प्रदर्शन, आफुमाथि लगाइएको ‘अयोग्य’ को बिल्ला तत्काल खारेज गर्न माग

Diyo post  

काठमाडौँ, माघ १० । बहिर्गमनका परेका माओवादी पूर्वलडाकुहरुले बिहीबार काठमाडौंमा प्रर्दशन गरेका छन ।

आफूहरुलाई आजकै दिन अयोग्यताको बिल्ला भिराएर सेना समायोजन प्रक्रियाबाट अलग गराएको भन्दै विरोधमा उनीहरुले बिहीबार अपरान्ह काठमाडौंको माईतीघर मण्डलामा कालोपट्टी र ब्यानरसहित प्रर्दशन गरेका हुन ।

बहिर्गमित जनमुक्ति सेना, नेपालका अध्यक्ष सुनिल लिम्बुले आफूहरुमाथि लगाइएको अयोग्यताको बिल्ला तत्काल खारेज गरी ‘गणतान्त्रिक नेपालको योद्धा’को सम्मान नदिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । बहिर्गमनमा परेका माओवादी पूर्व लडाकुहरुले सेना समायोजनमा परेका लडाकु सरह आर्थिक सहायता उपलब्ध गराउन माग गर्दै आन्दोलन गर्दै आएका छन ।

तत्कालीन सरकारले सेना समायोजनमा अयोग्य रहेको भन्दै माओवादीका पूर्व केही लडाकुहरुलाई सेना समायोजन हुनबाट बञ्चित गराउँदै जीविकोपार्जनका लागि आवश्यक आर्थिक सहायता उपलब्ध गराउने आश्वासन दिएको थियो । तर त्यो सहमति सरकारले पूरा नगरेकोमा उनीहरुको आपत्ति छ । अध्यक्ष लिम्बुले आफूहरुसँग गरेको सहमति अव पनि पूरा नगरे काठमाडांंैको सुरक्षा घेराभित्र रहेको सरकारलाई गाउँमा जाँदा ठूलो सुरक्षा चुनौति हुने चेतावनी समेत दिएका छन् ।

२०६६ साल माघ १० गते अर्थात आजकै दिन अनमिनले अयोग्य घोषित गरी ४ हजार नौ सय लडाकुलाई निकालिएको थियो । त्यसप्रति आपत्ति जनाउँदै अध्यक्ष लिम्बुले आफूहरुमाथि लगाइएको अयोग्यताको बिल्ला सरकारले अव पनि नहटाए पुनः युद्धमा होमिन बताएका छन् ।

सम्बन्धित खबर