आजको प्रतिनिधिसभा बैठक मुडभेडतिरः पेलेर जाने सत्तारुढको तयारी, त्यसै नछाड्ने कांग्रेसको रणनीति

Diyo post  

प्रतिनिधिसभाको आज शुक्रबारको बैठक मुडभेडतिर केन्द्रीत हुने आशंका बढेको छ । संसद्मा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले विधेयकलाई जसरी पनि पारित गराउने रणनीति बनाएको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले त्यसलाई जसरी पनि रोक्ने दाउमा छ । संसदीय समितिले बहुमतले पास गरेको विधेयकलाई जुनकुनै हालतमा संसदबाट पास गर्न नदिने भनेर कांग्रेस नेताहरु विशेष तयारीमा जुटेका छन् ।

आजको बैठकमा सभामुख कृष्णबहादुर महराको भूमिका तटस्थ नभएमा र सरकारले विरोधको प्रवाह नगरी विधेयक पास गरे कांग्रेसले मुठभेडको अवस्था सिर्जना गर्ने पक्का छ ।

नेपाली कांग्रेसलाई सभामुखको भुमिका चित्त नबुझ्नुले पनि आजको प्रतिनिधिसभा बैठक मुठभेडको दिशातिर जान सक्ने सम्भावना बढेको हो ।

नेपाली कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाको नाममा खोलिएका दुई अस्पताललाइै संघिय सरकार मातहत राख्नुपर्ने अडान राखेको छ । अनशनरत डा गोविन्द केसीको मागलाई तत्काल कार्यन्वयन गर्न पनि कांग्रेसको जोड छ ।

दुवै पक्षको मुठभेडको तयारीलाई मध्यनजर गर्दै संसद् सचिवालयले शुक्रबारको बैठकमा मर्यादापालकसमेत थपेको छ । हाल एक सय ३१ मर्यादापालक रहेकामा ३० जना थप्ने भएको हो ।

संसद् बैठकमै सय मर्यादापालक खटाइनेछन् । ‘आवश्यक परे ३० जनाजतिको संख्यामा प्रहरी हेडक्वार्टरबाट मगाउनेछौँ । यसअघि मंगलबारको तेस्रो बैठक बस्ने वेलामा पनि एक सय ३१ बाहेक अन्य ३० जनालाई हामीले तयारी अवस्थामा राखेका थियौँ,’ मर्यादापालक उपप्रमुख सानुभाइ खड्काले भने । आवश्यक परे रोस्ट्रमअघि मर्यादापालकको डबल रो राखिने उनले बताए । 

सम्बन्धित खबर