काठमाडौँ, माघ ११ । संसद भवन भित्रै सत्तापक्ष र प्रतिपक्षबिच मुठभेडको खतरा भएपछि शुक्रबार बस्ने भनिएको संसद वैठक अझै बस्न सकेको छैन । चिकित्साशास्त्र विधेयकलाई सभामुख कृष्ण बहादुर महराले शुक्रबार जसरी पनि पारित गराउने भनेपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यसको प्रतिवाद गर्ने तयारी गरेको थियो ।
नेपाली कांग्रेसले आफ्ना नेताहरु गिरिजाप्रसाद कोइराला र शुशिल कोइरालाको नाममा खोलिएका दुई अस्पताललाइै संघिय सरकार मातहत राख्नुपर्ने अडान राखेको छ । अनशनरत डा गोविन्द केसीको मागलाई तत्काल कार्यन्वयन गर्न पनि कांग्रेसको जोड छ ।
विहीबार सोही विधेयकलाई लिएर संसद भवनभित्र नेपाली कांग्रेसका सांसदहरुले हंगामा मच्चाएका थिए । सोही खतरालाई मध्यनजर राख्दै संसद भित्र थप मर्यादापालक परिचालन गरिने र सुरक्षाकर्मीसहितको टोली समेत अलर्टमा राख्ने सभामुखको तयारी थियो ।
विरोधका बिच विधेयक पारित हुँदा संसदमा हुने मुठभेडलाई मध्यनजर गर्दै अहिले सभामुख कृष्णबहादुर महरासहित सत्ता पक्ष र प्रतिपक्षका शीर्ष नेताहरु वैठकमा सहभागी भएका छन् । सम्भावित खतरालाई नियन्त्रण गर्नका लागि वार्ता गरिएको हो ।
वार्तामा नेपाली कांग्रेसका तर्फबाट उपनेता विजय कुमार गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड तथा सत्तापक्षबाट नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानूनमन्त्री भानुभक्त ढकाल र उपसभामुखबीच बैठक चलिरहेको छ ।