काठमाडौँ, माघ ११ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस असहमतीका बावजुद पनि चिकित्साशास्त्र विधेयक पारित भएपछि आक्रमक बनेको छ । शुक्रबारको प्रतिनिधिसभाको वैठकमा सभामुखले पेलेर विधेयकलाई पारित गराएको भन्दै कांग्रेसले विरोध जनाएको हो ।
दुई तिहाइबाट विधेयक पारित भएपछि तात्तिएको नेपाली कांग्रेसले संसदीय दलको वैठक बोलाएको छ । शुक्रबार संसद समापन हुनेबित्तिकै कांग्रेस संसदीय दलको कार्यलय सिंहदरबारमा वैठक बसेको हो । वैठकमा सरकार विरुद्ध कसरी जाने र दरिलो प्रतिपक्ष्यको रुपमा आगामी दिनमा कसरी उपस्थित हुने भन्ने बारेमा छलफल हुने स्रोतले बताएको छ ।
चिकित्साशास्त्र शिक्षा विधेयकलाई तोडमोड गरेर पारित गराइएको तथा तात्कालिन नेता गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाको नामबाट खोलिएको अस्पताललाई संघिय सरकारको मातहतमा ल्याउने माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको थियो । अवरोध र नाराबाजिका बिचबाट दुई तिहाईको दम्भ देखाउँदै विधेयकलाई पारित गरेपछि कांग्रेसले अब शसक्त तरिकाले अघि बढ्ने नीति लिएको हो ।
संसदीय दलको वैठकपश्चात कांग्रेसको आगामी कार्यनीति र सरकारको दम्भविरुद्ध कसरी प्रस्तुत हुने भन्ने कुराको निर्णय हुने बताइएको छ । प्रमुख प्रतिपक्षको हैसियतमा संसददेखि सडकसम्म सरकारको नकारात्मक कदम विरुद्ध आवाज उठाउने नीति नेपाली कांग्रेसले लिएको छ ।