भेनेजुएलाका राष्ट्रपति मडुरोलाई ट्रेड युनियन महासंघको पनि समर्थन

दियो पोस्ट  

काठमाडौं, माघ १२ । ट्रेड युनियन महासंघले भेनेजुएलामा पछिल्लो समय विकसित भएको घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव जगत सिंखडाले विज्ञप्ति निकालेर भेनेजुएलाका निर्वाचित राष्ट्रपति निकोलस मडुरोप्रति समर्थन जनाएका हुन् ।

‘सिंखडाले निकालेको विज्ञप्तीमा भनिएको छ, अमेरिकी हस्तक्षेपको ऐतिहासिक श्रृंखलाको निरन्तरताकै उत्कर्षमा अभिव्यक्त उक्त घटनामा हामी प्रजातान्त्रिक ढंगले निर्वाचित हुनुभएका राष्ट्रपति निकोलस मडुरो, भेनेजुएलाको अखण्डता र सार्वभौमसत्ताको पक्षमा हाम्रो स्पष्ट मत राख्न चाहन्छौं,’

अमेरिकाले सार्वभौमसत्तासम्पन्न राष्ट्र भेनेजुएलामा आफ्नो कठपुतली खडा गरेर सडकबाटै राष्ट्रपति घोषणा गर्न लगाउने र समर्थन गर्ने घटनाले प्रजातान्त्रिक प्रक्रियाको खुला उपहास भएको निष्कर्ष महासचिव सिंखडाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

विज्ञप्ति मार्फत उनले अमेरिकालाई अन्य देशमा प्रजातान्त्रिक प्रक्रियाद्वारा चुनिएको राष्ट्रपतिलाई वैधानिक र अवैधानिकको प्रमाणपत्र बाँढ्दै हिंड्ने हैसियत नभएको बताए ।

कुनै पनि सार्वभौम राष्ट्रको आन्तरिक मामिलामा दक्खल दिएर अमेरिकालगायतका केही राष्ट्रले अन्तर्राष्ट्रिय मूल्य मान्यतामाथि प्रहार गरेको महासंघले ठहर गरेको छ ।

भेनेजुएलामा पछिल्लो समय जननिर्वाचित सरकारविरुद्ध अमेरिका, युरोपियन युनियनलगायतका शक्तिहरुको सहयोगमा सडकबाटै राष्ट्रपति घोषणा गर्दै सत्ताद्रोहको प्रयास भइरहेको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि भेनेजुएलाको पक्षमा ऐक्यवद्धता जनाएका छन् ।

सम्बन्धित खबर