४ किलो नक्कली सुन प्रकरण : मध्यरातमा एक महिला पक्राउ, गिरोहमाथि प्रहरीको एक्सन !

Diyo post  

काठमाडौं, १२ माघ । गत पुस १९ गते धादिङ प्रहरीले बरामद गरेको ४ किलो नक्कली सुन ओसार पोसारमा समलग्न एक अर्को महिलालाई प्रहरीले पक्राउ गरेको छ ।


शुक्रबार राती धादिङबाट खटिएको प्रहरी र सिआइबीको संयुक्त टोलीले काठमाडौंको बानेश्वरमा लुकिछिपी गरेर बसेको अवस्थामा गंगा लिङ्देन लिम्बुलाई पक्राउ गरेको हो ।


झापाको हल्दिबारी १ स्थायी घर भएकी ३३ वर्षिय लिम्बुले यसअघि पक्राउ परेका सञ्जित वाईबालाई नक्कली सुनको भरिया बनाएर बेच्नका लागि धादिङ पठाएको खुलेको छ ।


राजधानीको चावेल चोकमा डेरा गरेर बस्ने लिम्बु नक्कली सुन ओसार पोसारमा समलग्न रहेको सुचना पाएपछि प्रहरीले लामो समयदेखि पछ्याउँदै आएको थियो ।


गत पुस १९ गते धादिङ प्रहरीले ४ किलो नक्कली सुन सहित सञ्जित वाईबा, सुरेन्द्र तामाङ र विकास तामाङलाई पक्राउ गरेको थियो । उनीहरु पक्राउ गरेपछि लिम्बु फरार भएकी थिइन् ।


जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी तथा प्रवक्ता श्याम कुमार महतोका अनुसार अभियुक्त लिम्बुले प्रतिकिलो २० हजार कमिशनमा सञ्जित वाईबालाई ४ किलो नक्कली सुन दिएकी थिइन् ।
प्रहरीसँगको बयानका क्रममा वाईबाले आफूलाई ‘दिदि’ले सुन दिएको बताएका थिए । ‘दिदि’ भनिएकी गंगा लिम्बुलाई प्रहरीले विगत केही दिनदेखि पछ्याइरहेको थियो ।


धादिङ प्रहरीले नक्कली सुन कारोबारीको गिरोहलाई नै नियन्त्रणमा लिने अभियान थालेको छ ।


पुस २० गते पत्रकार सम्मेलनका क्रममा ‘सुन’ बरामद भनेर सार्वजनिक गरिएपनि राजश्व अनुसन्धान विभागमा भने पित्तल र तामा मिश्रीत ढलोट रहेको पाइएपछि नक्कली सुनबारे पर्दाफास भएको थियो । अभियुक्तहरुले यसअघि आफूहरुले नक्कली सुन नै कारोबार गर्ने गरेको खुलाएका थिए ।

सम्बन्धित खबर