मनिला, माघ १३ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतबार बिहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतबार बिहान एकैसाथ दुई ओटा विस्फोटन भएको बतए।
प्रहरी प्रमुख ओस्कार अल्बायाल्डेका अनुसार मृत्यु भएकामध्ये अधिकांश फिलिसिन्सका सैनिक रहेका छन् ।
उहाँले विस्फोटनमा परी अरु ७७ जना घाइते भएका र उनीहरुको उपचार भइरहेको पनि बताए ।
दुवै विस्फोटन स्थानीय समयअनुसार विहान करिब ८।१५ बजेतिर दक्षिणी क्षेत्रको जोलो चर्चमा भएको बताइएको छ ।
उक्त चर्चमा एउटा बम बाहिर र अर्को चर्चभित्र गरी एक मिनेटको फरकमा ती दुई ओटा बम विस्फोटन भएको अल्बायाल्डेले बताए ।
यस दुर्घटनामा परेकाहरुमा अधिकांश नियमित रुपमा चर्च जाने गरेकाहरु रहेका पनि प्रहरीले जानकारी दिएको छ ।
“चर्चामा प्रार्थनाका बेला भएको विस्फोटनको हामी घोर भत्र्सना गर्दछौँ, सैन्य अधिकारीहरु र आम नागरिक मारिएका र घाइते भएका छन्, त्यो निकै दुःखद् छ,” फिलिपिन्सका रक्षा सचिव डल्फीन लोरेन्जानले बताए ।
उनले घटनाका पीडितहरुलाई तत्काल राहात तथा उद्धारका लागि सहयोग गर्न पनि निर्देशन दिइएको बताए ।
घाइतेमध्ये केहीको अवस्था चिन्तजनक रहेको र घटनाको विवरण सङ्कलन भइरहेकोले मृत्यु हुनेहरुको संख्या अझै बढ्नसक्ने अधिकारीहरुले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)