शिक्षण अस्पतालमा चिकित्सकको रिले अनसन, डा. केसीको माग सम्वोधन नगरे सबै सेवा बन्द गर्ने चेतावनी

Diyo post  

काठमाडौँ, माघ १४ । अनसनरत डा. केसीको जीवन रक्षाका माग गर्दै चिकित्सिकहरुले रिले अनसन शुरु गरेका छन् । महाराजगंजस्थित त्रि.वि शिक्षण अस्पतालको हातामा रहेको गणेशमान भवनमा चिकित्सकहरुले रिले अनशन शुरु गरेका हुन् ।

नेपाल चिकित्सक संघको आह्वानमा गरिएको रिले अनशन सोमबार विहान १० बजेबाट शुरु भएको हो । वरिष्ठ चिकित्सक केसीको जीवन रक्षाका लागि सरकारलाई पहल गर्न दवाव दिन रिले अनसन सुरु गरिएको आवासीय चिकित्सकहरुले बताएका छन । उनीहरुले डा. केसीको माग सम्बोधन नगरे अस्पतालको सबै सेवा छोडेर आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन । हाललाई अस्पतालको सेवालाई असर नपर्ने गरी उनीहरुले बिहान १० बजेबाट अपरान्ह ५ बजेसम्म रिले अनसन सुरु गरेका छन ।

नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले उपत्यकाका चिकित्सकले शिक्षण अस्पतालमा र बाहिर रहेका चिकित्सकहरुले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयहरुमा रिले अनसन सुरु गरेको जानकारी दिएका छन् । रिले अनसन सुरु गरेपनि अस्पतालको ओपीडी सेवाभने अवरोध नगर्ने चिकित्सकहरुको भनाई छ । तर डा. केसीको माग सुनुवाई सरकारले तत्काल नगरे उहाँको जीवन रक्षाका लागि अस्पतालको सबै सेवा ठप्प पार्न बाध्य हुने अवस्था आउने पनि संघका अध्यक्ष श्रेष्ठको चेतावनी छ ।

संघले डा. केसीको यस अघिको आमरण अनसनमा पनि साथ दिँदै आएको छ । सरकारले आफूसँग भएको सहमति विपरित संघीय संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराएपछि वरिष्ठ चिकित्सक केसीले आमरण अनसनलाई निरन्तरता दिने जनाउनु भएको छ । तर उहाँको स्वास्थ्य अवस्था भने झनै जटिल बन्दै गईरहेको छ ।

सम्बन्धित खबर