काठमाडौं, १४ माघ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यममा फेक रेस्क्युधन्दा सम्बन्धी समाचार पुन प्रकाशन भएपछि हेलिकोप्टर व्यावसायीहरुको छाता संगठन हलिकोप्टर सोसाइटी अफ नेपालले पत्रकार सम्मेलन गरेको छ ।
सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हेलिकोप्टर व्यावसायीहरुले ‘पर्यटक उद्दारमा कुनै गलत क्रियाकलाप नगरेको बताएको छ ।
‘पर्यटककको स्वास्थ्य समस्या तथा अनय विपद उद्धारको नाममा हुने गरेका कुनै पनि अनाधिकृत क्रियाकलापमा यस संस्थाका सदस्यहरुको समलग्नता नरहेको र रेस्क्युको प्रक्रियामा हेलिकोप्टर कम्पनीहरुको केवल उद्धार गर्ने काम मात्र हुने र सोही वापतको रकम सम्बन्धित आदेश गर्ने कम्पनिहरुबाट लिने गरेको र इन्सुरेन्स कम्पनिहरुले हेलिकोप्टर अपरेटरहरुलाई सिधै उडान दिने समेत नगरेको अवस्थाबाट पटक पटक अवान्छनिय आरोप लगाई पटक पटक समाचार प्रकाशन गर्नुले यसमा केही सिमित व्यक्तिहरुको ठूलो खेल रहेको छ की भन्ने आशंका उब्जाएको छ,’ सोसाइटिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सोसाइटिले अन्तर्राष्ट्रिय सञ्चार माध्यममा सिमित गिरोहले आफ्नो स्वार्थका लागि नेपालको बद्नाम गराएको र यस्तो कार्यले नेपाल दिर्घकालिन पर्यटनमा गम्भिर असर पर्ने समेत जनाएको छ ।
पत्रकार सम्मेलनका क्रममा अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हेलिकोप्टर कम्पनि कुनै पनि हालतमा फेक रेस्क्युमा समलग्न नहुने बताए ।
‘हामीलाई मान्छे कसरी बचाउने भन्ने मात्रै हुन्छ । हेलिकोप्टर कम्पनि फेक रेस्क्युमा समलग्त हुनै सक्दैन,’ थापाले भने,‘रेस्क्यु भन्ने वित्तिकै खाना नखाई उद्दारमा जाने हतार हुन्छ ।’
थापाले पुरानो सरकारी नीतिका कारण समयमा विरामी बचाउन नसकिएको समेत बताए ।
महासचिव योगराज कँडेल शर्माले सरकारले गरिरहेको छानबीन प्रक्रियामा आफूहरुले पूर्ण रुपमा सहयोग गर्ने बताए ।