काठमाडौँ, माघ १५ । प्रदेश नम्बर एकको नाम र राजधानीको सम्वन्धमा शीर्ष नेताहरुबिच समझदारी जुटेको छ । सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओली सहित प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाबिच प्रदेश एकको राजधानी विराटनगरलाई मान्दै कोसी नाम राख्ने सहमती भएको हो ।
शीर्ष दलका शीर्ष नेताहरु सहमत भएपनि प्रदेश सभाका ६७ सांसदमध्य ५० जना सांसदले भने उक्त प्रस्तावलाई अस्विकार गरेका छन् । उनिहरुले प्रदेशको नाम सगरमाथा राख्दै सुनसरीको इटहरीलाई राजधानी बनाउनुपर्ने अडान राखेका छन् ।
काँग्रेस सभापती शेरबहादुर देउवा प्रधानमन्त्री भएको समयमा प्रदेश एकको अस्थायी राजधानी विराटनगर तोकेका थिए । नेकपाले प्रदेश राजधानी सारेको खण्डमा आगामी चुनावमा पराजय भोग्नुपर्ने डरले विराटनगरलाई नै प्रदेश राजधानीको रुपमा स्वीकार गर्न लागेको स्रोतले बताएको छ । प्रदेश सांसदहरुसँग राजधानीको विषयमा टुंगो नलागेपछि मुख्यमन्त्री शेरधन राई सोमबार काठमाडौँ आएका छन् । उनले प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्ने बताइएको छ ।
पार्टी नेतृत्वले प्रदेश राजधानी र नामलाई यथास्थितिमा राखे आफुहरुलाई मान्य नहुने नेकपा प्रदेश एकका सांसदहरुले बताएका छन् । उनिहरुले पार्टी नेतृत्वले यसबारेमा हस्तक्षेप गर्नु संसदको सर्वोच्चतामाथि प्रहार गर्नु बताएका छन् ।