दलबलसहित भारतीय गाडी चढेर प्रदेश सभा छिरे दिपक मनाङे

Diyo post  

काठमाडौँ, माघ १५ । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ उर्फ दिपक मनाङेले प्रदेश सभामा आउँदा भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेका छन् । सोमबार सपथ लिएका मनाङे मंगलबार प्रदेश सभा जाने क्रममा भारतीय नम्बर प्लेटको गाडीमा गएका हुन् ।

बीआर ०६ पिडी ९८२९ नम्बरको गाडीमा मनाङे संसद पुग्दा प्रदेश सभा परिसरमा उपस्थित सबैको ध्यान उनि र उनले चढेको गाडीमा पुगेको थियो । भारतीय गाडीहरुलाई प्रदेश सभामा जान निषेध गरिएको छ । त्यसो त भारतीय नम्बर प्लेटका सवारी साधनहरु नेपालका सडकहरुमा गुड्दा ४ सय ५० प्रतिदिनका दरले राजश्व तिर्नुपर्ने हुन्छ ।

सभामा उपस्थित अन्य सांसदहरुले दिपक मनाङेले सांसदको मर्यादा तोडेको बताएका छन् । सरकारी सवारी साधनहरुमात्र पार्किङभित्र जान पाउने व्यवस्था भएपनि सांसद भारतीय गाडीमा चढेर आएपछि सुरक्षाकर्मीहरुले समेत रोक्ने हिम्मत गर्न सकेनन् ।

भारतीय नम्बर प्लेटको सवारी साधनमा प्रदेश सभा पुगेका सांसद मनाङेले पत्रकारहरुलाई समेत यस विषयमा टिप्पणी नगर्न चेतावनी दिएका छन् । उनले गैरजिम्मेवारपुर्ण तरिकाले भने, ‘सरकारले भारतको सहयोग लिन हुने मैले भारतीय नम्बर प्लेटको सवारी साधन समेत चढ्न नहुने?’

सांसद मनाङले आफुले चढेको सवारी साधन आफ्नो एकजना नजिकको भाइको दिदिको रहेको समेत बताएका छन् । उनले पत्रकारहरुमाझ यस्तो सामान्य कुरामा समय खेर नफाल्न बताउँदै आफुले गाडीको राजश्व तिरेको समेत बताएका छन् ।

सम्बन्धित खबर