काठमाडौं, १६ माघ । मंगलबार सहिद दिवसको अवसरमा आज अर्थात माघ १६ गते सार्वजनिक विदा दिन प्रदेश ३ सरकारले गरेको निर्णय गरेको सुचना सार्वजनिक गरियो ।
सुचना अनुसार सरकारी कार्यालय मात्रै होइन प्रदेश ३ का नीजि विद्यालय, सरकारी विद्यालय र सम्पूर्ण कार्यालयहरु बन्द हुनुपर्ने हो । तर, प्रदेश सरकारको सार्वजनिक विदा दिने निर्णय कार्यन्वयन भएन । सहिद दिवसमा विदा दिने गरी केन्द्रीय सरकार र गृहमन्त्रालयले समेत निर्णय गरेको छैन । प्रदेश सरकारको निर्णयलाई केन्द्रीय सरकारले नै असफल बनाइदिएको छ ।
प्रदेश सरकारको निर्णयलाई गृहमन्त्रालयले अस्विकार गर्दा ३ नम्बर प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयहरु खुल्ला रहेका छन् । यद्धपी प्रदेश मातहतका कार्यालयहरु भने बन्द रहेको बताइएको छ । ‘प्रदेश महातहतका कार्यलय विदा रहने भएकाले हाम्रो कार्यालय बन्द छ,’ काठमाडौं महानगरपालिकाका सुचना अधिकारी बसन्त आचार्यले भने,‘संघीय कार्यालय भने खुल्ला रहनेछन् ।’
प्रदेश ३ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश ३ का सबै सरकारी कार्यालयलाई विदा दिन पत्राचार गरेको थियो । केन्द्रीय सरकारको गृहमन्त्रालयलाई समेत बोधार्थ दिइएको भएपनि सबै जिल्लाका प्रशासन कार्यालयहरु खुल्ला छन् । आन्तरिक मामिला मन्त्री जम्मकट्टेल निर्वाचित भएको जिल्ला धादिङमा समेत जिल्ला प्रशासन कार्यालय खुल्लै छ ।
प्रदेश अन्तर्गतका कार्यलयहरु बन्द रहेपछि संघीय सरकार मातहत रहेका सबै कार्यालयहरु खुल्लै रहेका छन् । सहिद दिवसको दिनमा समेत प्रदेशमा विदा दिन नसकेको भन्दै प्रदेश सरकारको आलोचना समेत भइरहेको छ ।