युएइविरुद्धको पहिलो टी–ट्वान्टीमा नेपाल २१ रनले पराजित

Diyo post  

काठमाडौँ, माघ १८ । युएइविरुद्धको टि–ट्वान्टी श्रृंखलाको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको छ । विहीबार भएको खेलमा युएइले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याउँदै २१ रनले पराजित भएको हो ।

फिल्डिङ पछि ब्याटिङमा आएको नेपालले पहिलो बलमै विकेट गुमाउनुपर्यो । ओपनिङ ब्याट्सम्यानका रुपमा क्रिज पुगेका विनोद भण्डारी पहिलो बलमै आउट भए । प्रतिओभर ९ रनको आवश्यक रहेतापनी नेपालको कमजोर ब्याटिङका कारण आवश्यकताअनुसारको रन बढ्न सकेन ।

उपकप्तान ज्ञानेन्द्र मल्ल ७ रन बनाएर पवेलियन फर्केपछि नेपालले जितका लागि पारस खड्कामाथि भरोसा राखेको थियो । एकदिवसियको अन्तिम खेलमा पारसले देखाएको उत्कृष्ठ ब्याटिङले आज निरन्तरता पाउन सकेन । उनि २५ रन बनाउँदै पवेलियन फर्के । नेपालका लागि डेब्यु खेलाडी सन्दीप जोराले अर्धसतक बनाए । उनले ४६ बलमा ३ चौका र १ छक्का प्रहार गरि ५३ रन बनाएका थिए । त्यस्तै सोमपाल कामीले पनि २७ रनको योगदान दिएका थिए ।

नेपालका अनुभवी ब्याट्सम्यान दिपेन्द्रसिं ऐरि, करण केसी र विनोद भण्डारीले निराशाजनक प्रदर्शन गरेपछि नेपाली टोली युएइले दिएको लक्ष्य भेट्न असमर्थ बनेको हो ।

बलिङमा युएइका कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहुर खानले २–२ विकेट लिए । त्यस्तै अमिर हायतले १ विकेट लिए ।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय ५३ रन बनाए । युएइका लागि साइमन अनवरले सर्वाधिक ५९ रन बनाए । उनले ३८ बलमा २ छक्का र ५ चौका प्रहार गरे । उनलाई अभिनाश बोहराले आउट गरेका हुन् । त्यस्तै मोहम्मद ३० रन बनाए । २४ बल खेलेका उनले २ छक्का र एक चौका हाने ।

अन्य ब्याट्सम्यानहरुमा रिजवानले २२ रन बनाउँदा गुलाम शब्बर ८ रन बनाए । मोहम्मद बुताले २० रनको योगदान गरे । कप्तान मोहम्मद नाभिद एक रनमै आउट भए । उनलाई बसन्त रेग्मीले आउट गरे । यसअघि पहिलो ओभरमा युएइका ओपनर असफाख अहमद पाँचौ बलमा नै पवेलियन फर्किए ।

नेपालका लागि बसन्त रेग्मी र सन्दीप लामिछानेले २÷२ विकेट लिए । त्यस्तै सोमपाल कामी र अभिनाश बोहराले एक एक विकेट लिए ।

सम्बन्धित खबर