काठमाडौं, २४ पुस । फेसबुक, ह्वाट्स एप, भाइबर, इमो र ट्वीटर मार्फत ठगीधन्दा चलाउने नेपाली सहित विदेशी नागरिकलाई प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीले पक्राउ गरेको छ ।
सिआइबीले २ जना विदेशी नागरिक सहित ३ जना नेपाली नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक नाइजिरियन नागरिक सिरिल चाइनान्सो इबेच, आइबेरियन नागरिक असाप एडजी पिर्रेजीन र ३ जना नेपाली नागरिकहरु चितवन गुन्जनगर ६ घर भएका रामचन्द्र गैरे, काठमाडौं महानगरपालिका वडा नम्बर २६ का उमेश श्रेष्ठ र चितवन कालिका नगर घर भइ हाल बनस्थली बस्दै आएका हरि ओझा रहेका छन् ।
उनीहरुले सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिलाई रिक्वेस्ट पठाई साथी बनाउने गरेको र बहुमुल्य सामानहरु बेलायती पाउण्ड तथा अमेरिकी डलर समेत भएको पार्सल पठाइदिन्छु भन्दै इमेल गर्ने गरेका थिए । इमेलमा बहुमुल्य गहना, सामानहरु र डलर सहितको फोटो पठाई झूटो प्रलोभनमा पार्ने र पर्सेल सहित मेरो मान्छे नेपालमा आउँदै सो सामानहरु लिनु भन्दै सम्पर्क नम्बर ९८०३८०४८५८ मोबाइल समेत दिने गरेका थिए ।
फोन गर्ने व्यक्तिले ‘तपाईंको सामान मैले लिएर आएको थिएा । तर एयरपोर्टमा एक्सरे मेसिनबाट हेर्दा डलर समेत रहेछ त्यसैले सो छुटाउनका लागि नेपाली पैसा ताहिने भयो’ भन्दै नेपालमा रहेका व्यक्तिहरुलाई खाता नम्बर दिएर पैसा जम्मा गर्न लगाउने गरेका थिए ।
रकम जम्मा गरेपछि भने उनीहरु सम्पर्क विहिन हुने गरेको समेत खुलेपछि सिआइबीले ठगीधन्दाको गिरोह नै पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट विहिबार पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई ठगी मुद्दामा म्याद थपी अनुसन्धान भइरहेको छ । सिआइबीले पक्राउ परेका अभियुक्तहरुले अन्य व्यक्तिलाई समेत ठगी गरेको भए सम्पर्क गर्न समेत आह्वान गरेको छ ।