दिलिपको हत्या गर्ने धम्की दिने क्रसर उद्योगका संचालक विपिन महतो पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, पुष २६ । दिलीपकुमार महतो हत्या प्रकरणमा प्रहरीले चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोलाई पक्राउ गरेको छ।

उनलाई शनिबार बिहान जनकपुरमा आफन्तको घरमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङवाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो।

महतोले दिलीपको हत्या हुनुभन्दा दुई दिन अगाडि उनका बुबा रामजीवपन महतोलाई धम्की दिँदै छोराको छातीमा टिपर कुदाउने बताएका थिए।

दिलीपका दाइ वीरेन्द्र महतोका अनुसार गएको बुधबार मात्रै दिलीपका बुबा रामजीवन महतोलाई ठेकेदार तथा क्रसर उद्योगका सञ्चालक विपीनकुमार महतो धम्क्याउँदै भनेका थिए, ‘छोरालाई सम्झाइ दिनु। नत्र कुनै दिन जिउमै टिपर चढाइ दिन्छु।’ उनले ठेकेदार महतोकै निर्देशनमा दिलीपको कुटपिट गरी हत्या गरी शवमाथि टिपर चढाइएको आरोप लगाए।

यस भन्दा पहिले हिजो नै टिपर चालक मुनिन्द्र महतोलाई प्रहरीले पक्राउ गरिसकेको छ।

धनुषामा शुक्रवार नदीमा भइरहेको अवैध उत्खनन् रोक्ने क्रममा ओमप्रकाश महतोको टिपरले किचेर दिलीपको हत्या गरिएको उनको परिवारले आरोप लगाएको छ। दिलीपको परिवारले क्रसर सञ्चालक विपिन महतोसहित स्थानीय प्रशासन, वडाध्यक्षलगायतको संलग्नतामा हत्या गरेको आरोप लगाउँदै आएका छन्।

यता शुक्रवार बिहानै दिलीपको हत्या गरिए तापनि बिना कुनै मुचुल्का शवलाई प्रादेशिक अस्पाल पठाएको थियो। शवको अहिलेसम्म पोस्टमार्टम पनि गरिएको छैन। परिवारले प्रहरीमा जाहेरी नदिएको कारणले शवको पोस्टमार्टम नगरिएको प्रहरी निरीक्षक यादवले बताए।

सम्बन्धित खबर

सिफारिस