लक्षिमाले पाइन न्याय, पीडकलाई १० हजार जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति

दियोपोस्ट संवाददाता

दैलेख । गत वैशाख ११ गते सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लाष्टिकको जर्किन छोइएको आरोपमा निर्घात कुटिएकी दैलेखकी लक्षिमा सुनारले न्याय पाएकी छिन् । दैलेख जिल्ला अदालतका न्यायाधीश दण्डपाणी लामिछानेको माघ १३ गते बसेको इजलासले नारायण नपा–१० भवानीकी २४ वर्षीया राजकुमारी न्यौपानेलाई जातीय भेदभाव तथा छुवाछुत कसुर अनुसार सजाय सुनाएको छ ।

पीडक राजकुमारीलाई जातीय भेदभाव कसूर र सजाय ऐन अन्र्तगत १० हजार रुपियाँ जरिवाना र पीडितलाई २५ हजार क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको जिल्ला अदालतका सूचना अधिकारी बिनोद आचार्यले जानकारी दिए ।

१० महिना अघि सार्वजनिक धारामा पानी भर्ने क्रममा प्लाष्टिकको जर्किन छोइएको भन्दै राजकुमारी न्यौपानेले लक्षिमा सुनारलाई धारिलो हसिया प्रहार गरेर निर्धात कुटपीट गरेकी थिइन् । कुटपीटबाट घाइते भएकी सुनारको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भएको थियो ।

घटनापछि भागेकी आरोपित न्यौपानेलाई सुर्खेतमा आफन्तको घरमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले साउन २८ गते गिरफ्तार गरेको थियो । प्रहरीले हिरासतमा राखी अनुसन्धान सकेर भदौ ११ गते जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो ।

प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकील कार्यालयमार्फत अदालतमा पेश भएको जातीय भेदभाव तथा छुवाछूत मुद्दामा अदालतले आरोपित न्यौपानेलाई ३० हजार रुपियाँ धरौटीमा छोडेको थियो ।

ढिलै भए पनि अदालतले आफ्नो पक्षमा फैसला सुनाएको भन्दै पीडित लक्षिमा सुनारले खुसी ब्यक्त गरिन् । टाउकामा लागेको चाेट निको भए पनि अपमानको घाउ निको हुन समय लाग्ने भन्दै आफुलाई न्याय दिलाउन सहयोग गर्ने सहयोगीहरुलाई उनले धन्यवाद दिइन् ।

सिफारिस