रुकुम नरसंहारमा छोरा गुमाउने आमाहरुको चित्कार : ‘हाम्रा छोरालाई मार्नेहरु खुलेयाम डुलिरहेछन्’

दियो पोस्ट  

काठमाडौं, पुष १७ । पुष महिनाको कठ्याङग्रीदो चिसो । जाजरकोटदेखि राजधानी काठमाडौंसम्मको पट्यार लाग्दो लामोे बस यात्रा । बसमा वान्ता गदौगर्दै थाकेको शरिर । अनि, अनिँदा आँखा र आँखाभरि छचल्किएका आँशु बोकेर बोकेर रुकुम नरसंहारमा ज्यान गुमाउने मृतकका आधा दर्जन आफन्त काठमाडौं आएका छन् ।


रुकुम नरसंहारमा संलग्न दोषी भनिएका ३६ जना अभियुक्त मध्ये पाँच जनाले पहिल्यै उन्मक्ति पाएको र अन्य छ जनालाई पनि उच्च अदालत सुर्खेतले उन्मुक्ति दिने बिषयमा अदालतमा वकिलहरुबीच मत बाझिएकाले सर्बोच्च अदालतमा बहस हुने भनिएपछि मृतकका आमाबुवा र आफन्तहरु न्यायको भिख माग्दै राजधानी सम्म आइपुगेका हुन् ।


रुकुममा ८ महिना अघि नबराज बिक लगायत छ जना दलित युवाहरुको अन्र्तजातीय प्रेमकै कारण सामुहिक हत्या भएको थियो । हत्या अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्तलाई अदालतले बिभिन्न बहानामा उन्मुक्ति दिन थालेको पीडित परिवारको भनाई छ ।

अदालतले हत्यामा संलग्न दोषीलाई कार्वाहीको प्रकृया अघि बढाउनुको साटो एक एक गर्दै थुनामुक्त गर्दै जानुले अदालतप्रति शंका उत्पन्न भएकाले आफुहरु न्याय माग्दै राजधानी सम्म आउनु परेको मृतक नवराजकी आमा उर्मिला बिकले बताइन् ।


‘जाजरकोटदेखि छाद्दै छाद्दै यहाँसम्म आएँ, रातभरि निदाएकी पनि छैन, सर्बोच्च अदालतले न्याय दिन्छ कि भन्ने आशा बोकेर यहाँसम्म आएका हौँ,’ उनले भनिन्, ‘हाम्रा छोराहरुलाई मार्नेहरु खुलेयाम रुकुममा डुलिरहेका छन्, मार्ने मान्छेलाई कार्बाही नहुने हो भने हामी मर्न र मार्न पनि पछि पर्ने छैनौँ ।’


आफ्नो खुसी र भबिष्यको सहारा भनिएका जवान छोराहरुको हत्या भएयता ति छ जना आमाहरुका आँखा ओभाएका छैनन् । सन्तान गुमाउँदाको पीडा छँदैछ त्यसमाथि न्याय नपाउँदाको पीडाले आमाहरुको छाती चिरिएको छ । छोरा गुमाएदेखि आरामको निद्रा निदाउन नसकेको मृतक नवराज बिककी आमा उर्मिला बिकले दियोपोस्टसंग बताइन् । उनले भनिन्, ‘हाम्रा छोराहरुकोे हत्या गर्ने हत्यारालाई राज्यले छुटकारा दिन्छ भने हामी जस्तोसुकै आन्दोलन गर्न समेत पछि पर्दैनौँ ।’


गत जेठ १० गते रुकुम सोतीकी सुस्मा मल्लसंगको प्रेम सम्बन्ध सार्थक बनाउनका लागि नवराज बिक आफ्ना १८ जना साथी लिएर सुस्माको घर गएका थिए । नबराजसंगै थुप्रै युवाहरुको हुल देखेपछि सुस्माकी आमा प्रकाशी मल्लले जातीय गाली गलौज गर्दै मार्ने धम्की दिएकी थिइन् ।
हत्याको योजनाकारको रुपमा मुद्दा समेत चलाइएकी प्रकाशी मल्ल नै सबैभन्दा पहिले धरौटीमा रिहा भएकी थिइन् । उनी रिहा हुनुले पनि अदालतप्रति शंका उत्पन्न भएकोे बताउँछिन् सोही घटनाका मृतक सन्जु बिककी आमा सबिता बिक । उनी भन्छिन्, ‘प्रकाशी मल्लले वडा अध्यक्षलाई फोन गरेर नबोलाएको भए यस्तो हुने थिएन, सुस्मा र उनकी आमाकै कारण हाम्रा छोराहरु मारिएका हुन् ।’


प्रकाशी मल्ल र रिहा गरिएका अन्यलाई थुनामा राखेर कार्बाही गर्नु पर्ने उनको माग छ । भन्छिन्, ‘हाम्रा छोराहरुलाई हँसिया, बन्चरो, दाउरा र ढुंगा प्रयोग गरेर मार्न लगाउने तिनै प्रकाशी मल्ल र वडा अध्यक्ष हुन् । उनीहरुलाई मुक्त गरिनु हुन्न ।’


त्यसो त, नवराजसंगै हत्या गरिएका गोबिन्द शाहीकी आमा भिमी बुढाथोकी शाही पनि आठ महिनादेखि छोराको न्यायको पर्खाइमा छिन् । अदालतले हत्यामा संलग्न अभियुक्तलाई बिस्तारै थुनामुक्त गरेको प्रति उनको पनि चित्त बुझेको छैन । उनी पनि नबराजका परिवारसंगै न्याय खोज्दै राजधानी आएकी छिन् । ‘मेरो छोराले साथीकै लागि ज्यान गुुमायोे, उसलाई १० दिनसम्म कोठामा बन्धक बनाएर कुटी कुटी हत्या गरिएको रहेछ । बरु हात खुट्टा मात्रै भाँचेर छोडदिएका भए नि हुने’, उनले आफ्नो छोराको मृत्युको बारेमा मनको बह पोखिन् ।

यस घटनामा आफ्ना छोराहरुले ज्यान गुमाउनुमा प्रहरी प्रशासनको पनि हात रहेको उनको आरोप छ । ‘१० दिनसम्म मेरो छोरा कति रोए होला ? कठै ! मेरो बाबुलाई तड्पाई तड्पाई मार्दा पनि पुलिस आएर बँचाएनन,’ उनले भक्कानिदैँ भनिन् । जिल्ला अदालत र उच्च आलतले आफुहरुको आँसु नदेखे पनि सर्बोच्च अदालतले न्याय दिनेमा उनको विश्वास छ ।


छोराहरुको न्यायका लागि राजधानी आएकी अर्की आमा लक्ष्मी सुनारका पनि आँखा ओभाना छैनन् । उनी मृतक लोकेन्द्र सुनारकी आमा हुन् । आफुहरु सानो जात भएकै कारण न्याय नपाईने हो कि भन्ने उनको चिन्ता पनि उत्तिकै छ । ‘भेरीमा उल्टोसुल्टो पौडिन जान्ने मेरो छोरोलाई मारेर डोरीले बाँधीवरी फालिएको रहेछ । मेरो छोरा चारदिन पछि अनुहार नचिनिने अस्थामा भेटिएको थियो, तर सानो जातको मान्छे मारिएकाले पनि होला हाम्रो आँसु राज्यले देखेन,’ उनले गुनासो पोखिन् ।


सुन्निएका खुट्टामा फित्तावाला चप्पल नअटेर हातमा चप्पल बोकेर खाली खुट्टा थरथर काँप्दै राजधानी आएका मृतक गणेश बुढाका बुवा पदम बहादुर बुढा मगर पनि प्रहरी प्रशासनकै मिलेमतोमा आफ्ना छोराहरुको हत्या भएको आरोप लगाउँन् । उनले अहिलेसम्म पनि आफुहरु डर त्रासमा जिउनु परेको बताए । दैनिक ज्याला मजदुरी गरेर छाक टार्ने यो परिवारमा यतिबेला आर्थिक संकटले पिरोलेको छ । सोती नरसंहारमा छोरा खोसिएपछि परिवारको गास समेत खोसिएको उनको गुनासो छ । भन्छन्, ‘हामी बिहान बेलुकी काम गरेर छाक टार्ने मान्छे, घरमा काम गर्ने कोही छैन, छोरालाई तिनीहरुले मारिदिए, हामीले कहिले न्याय पाइने हो, थाहा छैन ।’


पश्चिम रुकुमको चौरजहारी नगरपालिका सोतीमा भएको हत्याकाण्डमा ज्यान गुमाउने अर्का मृतक टिकाराम बिकका बुवा सोभे नेपाली पनि यती बेला छोराको न्यायका लागि राजधानी आईपुगेका छन् । उनको पनि न्याय प्राप्तीको आशा मरेको छैन । भन्छन्, ‘हामी गरिब भएकै कारण हाम्रा पक्षमा बोलदिने कोही छैनन् । हामीलाई कसैले न्याय नदिने भए पछि हामी यहाँ आएका हौँ, सर्बोच्चले त न्याय देला नी ।’


यता सर्बोच्च आलतमा शुक्रबार गरिने भनिएको बहस टुंगिएको छ । अधिबक्ता बम बहादुर श्रेष्ठ र तेज बहादुर केसीको संयुक्त इजलासले रुकुम घटनाका बिषयमा तयार परिएको सकल मिसिल मगाउने, बिभिन्न समयमा परेका छुट्टा छुट्टै निबेदनलाई संगै जोडेर हेर्ने र कैफियत प्रतिबेदन मगाई मुद्धाको छिनाफानो गर्ने गरि बहस सकिएको अधिबक्ता त्रिलोक चन्द्र विश्वास विश्वकर्माले जानकारी दिए ।

सम्बन्धित खबर