दियोपोस्टमा प्रकाशित समाचार हटाउन जर्मनबाट धम्की : नहटाए प्रतिबन्ध लगाउने चेतावनी (पत्रसहित)

दियोपोस्टमा प्रकाशित समाचार हटाउन जर्मनबाट धम्की : नहटाए प्रतिबन्ध लगाउने चेतावनी (पत्रसहित)

काठमाडौं, ६ माघ । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । प्रकाशित समाचारको विषयमा चित्त नबुझे पीडित पक्षले सम्बन्धित सञ्चारमाध्यमबाटै खण्डन गर्न पाउने प्रेस काउन्सिल ऐनमै व्यवस्था छ । खण्डन नछापे काउन्सिलले सञ्चारमाध्यममाथि स्पष्टिकरण सोध्ने समेत पत्रकार आचारसंहितामै उल्लेख छ । तर, गत माघ २ गते दियोपोस्ट डटकममा प्रकाशित समाचार हटाउन एक संस्थाले धम्कीपूर्ण अल्टिमेटम दिएको छ ।


गत माघ २ गते दियोपोस्ट डटकममा ‘१३ वर्षदेखि छोरी ‘बेपत्ता’ : आमाको चित्कार,‘छोरी सम्झदा संसारै अध्याँरो हुन्छ’ शिर्षकको समाचार र भिडियो प्रकाशन तथा प्रशारण भएको थियो । सोही समाचारलाई लिएर जर्मनस्थित एक संस्थाले दियोपोस्ट डटकमको प्रधानसम्पादक सुदीप विश्वकर्मालाई समाचार हटाउन अल्टिमेटम सहितको इमेल धम्की दिएको हो ।


समाचार नहटाए कानुनी रुपमा मुद्दा हाल्ने लगायतको धम्की यो संस्थाले दिएको छ । दियोपोस्ट डटकममा धादिङको निलकण्ठ ९ घर भएकी शोभा आर्यालले आफ्नी छोरी रजनी अर्याल विगत १३ वर्षदेखि हराएको बताएकी थिइन् । धर्म सन्तानको नाममा धादिङकै साङकोषमा रहेको बाल भविष्य बाल संगठन (सिएफओ)ले जर्मन पुर्याएको भन्दै शोभाले बेचेको आरोप लगाएकी थिइन् ।


सिएफओ नेपाललाई सहयोग गरिरहेको बताउने जर्मनको यो संस्थाले बालिका रजनीलाई सबै कानुनी प्रक्रिया पुर्याएर जर्मन ल्याइएको समेत दाबी गरेको छ ।

‘आमाले दाबी गरे अनुसार बेचिएको कुरा गलत हो । रजनीलाई जर्मन परिवारले धर्मपुत्र बनाएर लाने विषयमा आमालाई पहिले नै जानकारी थियो,’ दियोपोस्टलाई पठाइएको पत्रमा भनिएको छ।


यो संस्थाले रजनीलाई जन्मदिने आमामाथि समेत विभिन्न आरोप लगाएको छ । ‘रजनकी जन्म आमाले बारम्बार दुख दिएको कारण उनी तनावमा छिन् । यसले जर्मनीमा रजनी र धर्मपुत्र अगिंकार गर्ने परिवारलाई असर गर्छ,’ पत्रमा भनिएको छ ।


पत्र पठाउने संस्थाले प्रकाशित समाचार इन्टनरेटबाट हटाउन धम्की दिएको छ । ‘भिडियोको सामग्री गलत भएको कारण यो तुरुन्त इन्टरनेटबाट हटाउनपर्नेछ । गलत तथ्यहरु प्रशारण गर्नु कानुनको उलंघन हो ।

चाहेको खण्डमा फैजदारी कानुन अन्तर्गत मुद्दा चलाउन पनि सकिन्छ । म तपाईंलाई यो भिडियो सामग्री र यस सन्दर्भमा प्रकाशित सबै जानकारी इन्टरनेटबाट सोमबार १८ जनवरी २०२१ को नेपाली समय अनुसार बेलुका ५ बजे भित्र हटाउनुहोला । यदि हाम्रो चेतनावी अस्विकार गरे तपाईंलाई इन्टरनेटमा समाचार वितरणमा प्रतिबन्ध लगाउनेछौँ ।’


सोमबार नेपाली समय अनुसार ५ बजे समाचार हटाउन अल्टिमेटम दिएको पत्रमा उल्लेख भएपनि दियोपोस्टको आधिकारिक इमेलमा यो धम्कीपूर्ण पत्र २ घण्टापछि अर्थात सोमबार साँझ ७ बजेर ३८ मिनेटमा आएको हो ।

Trending News