दुवै मृगौला फेल भएपछि दुई सन्तानकी आमाको बिचल्ली, भन्छिन्,‘पैसा हुनेहरुका लागि मात्रै रहेछ जीवन !’

diyopost.com
रीता बुढाथोकी
  शनिबार, पौष २४, २०७८ | १६:२७:४८

 

काठमाडौँ । अर्घाखाँची जिल्ला संन्धिखर्क नगरपालिका, वडा नम्बर १० पोखेडाँडाकी २६ वर्षीय सीता बिकका दुबै मृगौला फेल भई यतिबबेला जीवन मरणको दोसाँधमा छिन् । घरको आर्थिक अवस्था कमजोर छ । बिहान बेलुका हात मुख जोर्ने समस्या उस्तै छ । त्यसमाथि आफ्ना दुबै मृगौला बिग्रिएपछि उपचारका लागि पैसा नभएकै कारण सीता थप पीडामा छिन् ।

पाँच वर्षकी नावालक छोरी र पाँच महिनाको दुधे बालक काखमा च्यापेर सीताले सहयोगका लागि अपिल गरेकी छिन् । भन्छिन्, ‘बच्चाका लागि भए पनि बाँच्न चाहान्छु । कृपया मलाई बचाइदिनुस् ।’

सीताका श्रीमान अर्जुन विश्वकर्मा भारतको नयाँ दिल्लीमा मजदुरी गर्थे । सीता पनि श्रीमानसंगै दिल्लीमा बस्दै आएकी थिइन् । दिल्लीमै हुँदा पाँच वर्ष पहिले छोरी जन्मिएकी थिइन् । छोरी जन्मिएसंगै उनलाई पिसाव पोल्ने, ढाड दुख्ने समस्या देखा परेको थियो । छोरी हुर्कदैँ थिईन् । ढाड र कम्मर दुख्ने समस्या ज्यूँका त्यूँ थियो । यसैबीचमा उनी दोस्रो पटक गर्भवती भइन् ।

पेटमा बच्चा हुर्कदैँ थियो । कम्मर दुख्ने र पिसाव पोल्ने समस्याले उनको गर्भावस्था निकै कष्टकर बन्यो । दोस्रो बच्चा पेटमा ७ महिनाको भईसकेको थियो । त्यसैबेला उनका दुबै मृगौला फेल भइसकेको रिपोर्ट आयो ।

अस्पतालको रिपोर्टले उनी निकै आत्तिइन् । आफ्नै आँखा अगाडी मृत्युले गिज्याइरहे जस्तो लाग्यो । आफ्नै जीवन धरापमा थियो, यता पेटमा हुर्कँदै गरेको बच्चालाई जीवन दिन नसकिने हो कि भन्ने चिन्ताले उनी मुर्छित भइन् ।

डाक्टरले गर्भपतन गरी किड्नी प्रत्यारोपण गर्नु पर्ने सल्लाह दिए । डाक्टरको भनाइले उनी धेरै बेर रोइन् । जिन्दगीको निकै संगीन मोडमा थिइन् उनी । यता आफ्नै जीवनको भर थिएन । उता पेटमा हुर्कदैँ गरेको जीवनको मायामा उनले आफैलाई बिर्सिइन् । आफ्नै पेटमा हुर्किदैँ गरेको बच्चालाई संसार देखाउनु उनले आफ्नो कर्तव्य सम्झिइन् । उनी भित्रको मातृत्वले डाक्टरको सल्लाहलाई परवाह गरेन ।

जसरी भए पनि बच्चालाई जन्म दिने अठोट गर्दै उनले जसो तसो ९ महिना गुजारिन् । ९ महिना पुरा भएपछि नयाँ दिल्लीस्थित सबदरजंङ्ग अस्पलालमा सल्यकृयाद्वारा बच्चा पैदा गराईयो । बच्चा स्वस्थ जन्मिएको थियो । तर, आमाको अबस्था भने नाजुक बन्दै गयो ।

सुत्केरी अवस्थामै डाइलासिस गर्दै प्राण थामेकी उनलाई दिल्लीको बसाई र उपचार निकै महंगो पर्न गयो । त्यसपछि उनी थप बाँच्ने आशा बोकेर २ महिनाको दुधे बालक च्यापेर नेपाल फर्किइन् । उनका श्रीमान पनि भारतको मजदुरी छोडेर श्रीमती र बच्चासंगै नेपाल आए ।

यतिबेला सीता भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत छिन् । अर्जुन भने, बच्चा र श्रीमतीको हेरचाहमा खटिएका छन् । उनी भन्छन्, ‘बिरामी र बच्चाको स्याहार गर्दै ठिक्क छ, काम गरेर पैसा कमाउन पनि सकिन । बिरामीको उपचार कसरी गर्नु?’

यता, डाक्टरले किड्नी प्रत्यारोपणका लागि सात लाख रुपैँया लाग्ने बताएका छन् । श्रीमती र छोरा छोरीको अनुहार हेरेर अर्जुन आफै छटपटिन्छन् । भन्छन्, ‘सात सय नभएर बाबुलाई दुध किन्न मुस्किल छ, सात लाख कहाँबाट जुटाउनु?’

सुत्केरी अवस्थामा पोशिलो खाने कुरा नपाएर सीताको दुध आउँदैन । भोकले तड्पिएर बच्चा रातभरी रुन्छ । अर्जुन राती उठ्छन र एक पोका गाइको दुधमा पानी मिलाएर पिलाउछन् र आमाको छेउमा लगेर सुताइदिन्छन् । आमाको न्यानो पाएर बच्चा निदाउँछ । तर सीताको मन भने चिसिँदै जान्छ । ‘उपचार नपाएर कतै म मरे भने, यो बच्चको के हालत होला? उनी आँखा भरि आँसु पारेर छोरालाई नियाल्छिन् ।

 

 

आर्थिक अभावकै कारण आफुले उपचार नपाउने हो कि भन्ने शंकाले उनलाई पिरोलेको छ । भन्छिन्, ‘पैसा हुनेहरुका लागि मात्र रहेछ जीवन । हामी जस्ता गरिबले पैसाकै अभावमा जीवन गुमाउनु पर्ने रहेछ ।’

कसैले सहयोग गरिदिए आफुले उपचार पाउनेमा सीताको आशा अझै मरेको छैन । उनी भन्छिन्, ‘म मेरा बच्चाहरुका लागि भए पनि बाँच्न चाहान्छु, मलाई आफ्नै छोरी, आफ्नै दिदी बहिनी, आफ्नै आफन्त सम्झेर सहयोग गरिदिनु होला । तपाईहरुको सहयोग मेरा लागि संसारको सबै भन्दा अमुल्य सहयोग हुनेछ ।’

सम्बन्धित खबर