‘फेक रेस्क्यु’ खलनायक राम प्रसाद सापकोटा एमाले छोडेर राप्रपामा प्रवेश

diyopost.com
दियो पोस्ट  शुक्रबार, माघ १४, २०७८ | १:१४:११

काठमाडौं । नेपाल भ्रमणमा आउने पदयात्री पर्यटकलाई फर्जी उद्दारका नाममा चरम ठगी गर्ने प्रमुख पात्र राम प्रसाद सापकोटा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई विहिबार राप्रपा अध्यक्ष राजेन्द्र लिंङ्देनले र महामन्त्री धावल शम्शेर राणाले स्वागत गरेका हुन् ।

यसअघि नेकपा एमाले निकट पर्यटन व्यावसायी संगठनमा रहेका सापकोटा ट्रेकिङ एजेन्सीज एशोशियसनका पूर्व उपाध्यक्ष समेत हुन् ।

सापकोटाको स्वामित्व रहेको हिमालयन सोशियल जर्नी नामक ट्रेकिङ कम्पनि र उनकै लगानी रहेको अल्टिच्युड एयरले पर्यटक उद्दारको नाममा विदेशी पर्यटकमाथि चरम ठगी भएको ठहर भएको थियो । तत्कालिन पर्यटन मन्त्री रविन्द्र अधिकारीको निर्देशनमा बनेको उच्च स्तरिय छानबीन समितिले सापकोटा र उनको कम्पनिलाई कारबाही गर्न प्रहरी अनुसन्धान केन्द्रीय ब्युरो सिआइबीलाई सिफारिस गरेको थियो । तर, सिआइबीले मिलेमतोमा सापकोटालाई उन्मुक्ति दिएको आरोप लाग्दै आएको छ । तत्कालिन डिआइजी हालका एआइजी निरज शाहीलाई सापकोटाकै एक व्यावसायीक साझेदार सेटिङ मिलाईदिएको चर्चा चल्ने गर्छ ।

सापकोटाले फेक रेस्क्यु गराएर विदेशी विमा कम्पनिमाथि चरम ठगी गरेको विषयमा पहिलो पटक दियोपोस्ट डटकमले नै खबर प्रकाशन गरेको थियो । त्यसपछि सबै जसो अन्तर्राष्ट्रिय माध्यमले सापकोटाले नै ठगी गरेको भन्दै समाचार प्रकाशन गरेका थिए । सापकोटालाई फेक रेस्क्युको खलनायकको रुपमा चितृत गरिने गरेको छ ।

सम्बन्धित खबर