गंगाजमुना छुवाछुतमा संलग्न नै नभएका ७० वर्षे शिव बहादुरको नाम जाहेरीमा कसले राखिदियो ?

diyopost.com
दियो पोस्ट  सोमबार, माघ १७, २०७८ | २२:४४:४०

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकामा भएको छुवाछुत तथा विभेदको घटनामा समलग्न नै नभएको एक बृद्धको नाम समेत जाहेरीमा परेको पाइएको छ । ७० वर्षिय शिव बहादुर अधिकारीको नाम जाहेरीमा उल्लेख भएको पाइएको हो । उनी घटनामा समलग्न नै नभएपनि राजनीतिक प्रतिसोधकै आधारमा फसाउने उद्देश्यले नाम समावेश गरिदिएको उनको दाबी छ ।

‘म उमेरले ७० वर्ष पुग्न लागिसकेँ । अहिले पनि औषधी सेवन गरिरहेको छु । मैले यतिका उमेरसम्म कसैलाई छुवाछूत विभेद गर्ने कुरा कल्पना समेत गर्न सक्दिनँ । तर, मलाई नै विपक्षी बनाएर जाहेरी हालिएको रहेछ । मैले छुवाछुतबाट पीडित भएका सुवास भन्ने भाईलाई चिनेको पनि छैन,’ उनले दियोपोस्टसँग भने,‘चिन्दै नचिनेको र कहिल्यै नदेखेको मान्छेलाई कसरी छुवाछुत हुन्छ । म त साह्रै अन्यायमा परेँ ।’

यता जाहेरकर्ता सुवास विकले पनि जाहेरीमा उल्लेखित शिव बहादुर अधिकारीले आफूलाई विभेद नगरेको बताए । ‘उहाँले आफैले विभेद गरेको होइन । क्यान्टिन सञ्चालक दिपेन्द्र अधिकारीले उहाँको नाम दिएको हो । मैले जाहेरी दिँदा उहाँको नाम थिएन,’ उनले दियोपोस्टसँग भने,‘पछि कसले किन उहाँको नाम राखिदियो मलाई थाहा छैन ।’

पीडक भनिएका अधिकारी र पीडित भनिएका विकले नै घटनामा समलग्नता रहेको अस्विकार गरेपनि प्रहरीले उनलाई बयानका लागि बोलाएको छ । तर, समलग्नता नै नभएका अधिकारीको नाम जाहेरीमा कसले र किन राखिदियो भन्ने रहस्य भने खुल्न सकेको छैन ।

गत पौष २७ गते गंगाजमुना गाउँपालिकामा सञ्चालित क्यान्टिनमा कार्यरत सुवास विकलाई दलित भएकै कारण जागिरबाट निकालिएको घटना सार्वजनिक भएको थियो ।

उक्त घटनामा गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीको प्रत्यक्ष समलग्नता रहेको पीडित पक्षको भनाई छ । अधिकारी विरुद्ध समेत पीडित विकले प्रहरीमा जाहेरी दिएको भएपनि अधिकारीलाई पक्राउ गरिएको विषय सार्वजनिक भएको छैन ।

 

 

सम्बन्धित खबर