सहयोगको आश्वासनमा झापाकी आमा छोरी बलात्कृत, कोठीमा बेच्न लैजने क्रममा दुई भारतीय पक्राउ

दियो पोस्ट  

काठमाडौं । अर्काको घरमा मजदुरी गरेर जीविका चालउँदै आएकी झापा कन्काई नगरपालिका ४ की मुस्लिम समुदायकी २७ वर्षीया महिला र १३ वर्षीया बालिका कामको खोजी गर्दै गत बिहीबार प्रदेश १ को राजधानी विराटनरमा आईपुगे ।

विराटनगर आइपुगेपछि ती महिला बालिकालाई सँगै लिएर कामको खोजी गर्दै मनकामना होटल पुगिन् । त्यसबेला साँझको ४ बजेको थियो । झापा घर फर्कन उनीसँग रकम पनि थिएन । खाने र बस्नेको ठेगान पनि थिएन । अन्योलमा परिरहँदा होटलमै रहेका भारतीय नागरिक सुपोल सिम्राही(१३ का बाबु साहव र अररिया नसदगन्ज-१४ का मोहम्मद जाहगिरसँग उनिहरुको भेट भयो ।

ति भारतीय नागरिकहरुले ती महिला र किशोरीलाई सोधखोज गर्न थाले । महिलाले आफ्नो अवस्थाबारे बेलीबिस्तार सुनाइन् । त्यसपछि ती दुई भारतीय नागरिकले होटलको भन्दा राम्रो र बढी पैसा हुने जागिर लगाइदिने आश्वासन दिँदै आफूहरुसँगै हिँड्न आग्रह गरे । महिला र किशोरीले उनीहरुको प्रस्ताव तत्काल स्वीकार गरेनन् । ‘तपाइँलाई चिनेका पनि छैनौं र हामीसँगै पनि जाँदैनौं,’ती महिलाले उनीहरुलाई जवाफ दिइन् । भारतीय नागरिकले भने आफूहरू पनि मुस्लिम भएकाले आफ्नै समुदायका महिला अप्ठ्यारोमा पर्दा सहयोग गर्ने भन्दै सहयोग गर्ने बाचा दिए । ‘यति साँझ भइसक्यो । तिमीहरुको बस्ने र खानेको टुंगो पनि छैन । हामी पनि आज विराटनगरमै होटलमा बस्छौं । तिमीहरु पनि यतै बस । पैसाको चिन्ता नगर हामी तिरिदिन्छौं भने,’ ती महिलाले भारतीय नागरिकलाई उद्धृत गर्दै भनिन् ।

त्यसपछि भने ती महिला र बालिका आर्थिक समस्याका कारण उनीहरुको प्रस्तावमा राजी भए । त्यहाँबाट भारतीय नागरिकले उनीहरूलाई सिटी रिक्सामा हालेर विराटनगर-१५ रानीस्थित सीमा क्षेत्रको हिमाल गेष्ट हाउसमा पुर्‍याए । त्यहाँ पुगेपछि चारै जनाले खाना खाए । तर राती ती भारतीय नागरिक बाबु साहवले महिलालाई सहयोग गर्ने भन्दै आफैसँग सुत्न दबाब दिए । १३ वर्षीया छोरीलाई भने आफ्नै साथीसँग सुत्न उनले दबाब दिए । यसो गर्दा होटल खर्च कम हुने भन्दै ती भारतीयले महिलालाई दबाब दिए । महिलाले भारतीय बाबु साहवको प्रस्ताव अस्वीकार गर्दै आफूहरू अलग कोठामा सुत्ने भनेर अडान राखिन् । तर बाबु साहव रिसाउँदै त्यसो भए आफ्नो खर्च आफैं तिर्नुपर्ने भने ।

अन्ततः महिला बाबु साहवकै कोठामा सुत्न बाध्य भइन् । राती बाबु साहवले जबर्जस्ती करणी गरेको महिलाले प्रहरीसँगको आफ्नो बयानमा भनेकी छन् । भोलिपल्ट बिहान ११ बजे चारै जनाले खाना खाएपछि होटलको सबै खर्च दुवै भारतीय नागरिकले तिरेर होटलबाट निस्किए । त्यहाँबाट उनीहरुले ती महिला र बालिकालाई भारतमा राम्रो जागिर लगाइदिने प्रस्ताव गर्दै भारतीय सीमातिर लगे ।

तर मूल ढाटमा इलाका प्रहरी रानीका प्रहरीको केरकारमा उनीहरु चारै जना पक्राउ परे । प्रहरीले दुवै भारतीय नागरिकलाई मानव बेचविखन तथा जबर्जस्ती करणीमा मुद्दा दायर गर्न सोमबार जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा त‍ी महिला र बालिकाको आर्थिक अवस्थाको मजबुरीको उठाएर जबर्जस्ती करणी गरेको र भारत पुर्‍याएर आफैं उपयोग गर्ने र पछि कोठीमा बिक्री गर्ने नियत रहेको पाइएको छ ।