काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहले जातिय सम्बन्धीका समस्या समाधान गर्न नेपाल प्रहरी सदैव प्रतिवद्ध रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार भएको राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यतामा नेपाल प्रहरीद्वारा आयोजित राष्ट्रिय दलित आयोगका पदाधिकारी एवम् कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
नेपाल प्रहरीले नियमित रूपमा आयोगसँग समन्वय गरी दलितसँग सम्बन्धित समस्या समाधान गर्न सदैव प्रतिवद्ध रहेको बताएका छन् । सिंहले दलित समुदायलाई होच्याएर वा प्रतिष्ठामा आँच आउने गतिविधि गर्ने व्यक्तिलाई कानूनको दायरामा ल्याउन समेत प्रहरी क्रियाशिल रहेको बताउँदै सामाजिक सञ्जालमार्फत देश बाहिर रहेर त्यस्ता गतिविधि गर्नेलाई नियन्त्रणमा लिन कठिन भएता पनि त्यसतर्फ समेत आवश्यक कदम चालिने बताए ।
दलितहरूको प्रतिनिधित्वका लागि नेपाल प्रहरीको भर्ना प्रकृयामा राज्यले अंगिकार गरेको समावेशी प्रावधानलाई अक्षरस पालना गरिएको समेत उनले बताए । उनले भने,“नेपाल प्रहरी दलित समुदायको सबैभन्दा बढी प्रतिनिधित्व भएको संगठन हो । दलित समुदायको प्रतिनिधित्वको लागि हामी सदैव सकारात्मक छौं ।” राष्ट्रिय दलित आयोगका अध्यक्ष एवम् पदाधिकारीहरुको उपस्थितिका लागि आभार व्यक्त गर्दै आगामी दिनमा निरन्तर रुपमा अन्तरक्रिया आयोजना हुने विश्वास व्यक्त गरे ।