कुटपिटको प्रतिरोध गर्दा श्रीमानको हत्या, पाँच वर्षपछि श्रीमती पक्राउ

दियो पोस्ट  

काठमाडौँ । ​​​​जाजरकोटमा ५ वर्षअघि हत्या गरेर गाडिएको एक व्यक्तिको शव फेला परेको छ । भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव पाँच वर्षपछि फेला परेको हो । उनको श्रीमती भद्रकला कामी र दुई छोराहरु तुल्सीराम कामी र गोविन्द कामीले हत्या गरेर शौचालयको सेफ्टि ट्याङ्कीमा गाडेका थिए ।

२०७४ पुस ३० गते राती भद्रकलाले आफ्ना श्रीमानलाई निधारमा लाठीले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । गुपचुप राखिएको घटनाबारे यही माघ १७ गते प्रहरीले गोप्य सूचना पाएपछि खोजतलास गरेको थियो ।

खाडलमा पूरै दाँतसहितको प्रहरीले खप्पर, प्लाष्टिकको डोरीले बाँधिएको ज्याकेट, पाइन्ट र ती कपडाभित्र मानव हड्डी भेट्टाएको छ । भद्रकला र दुई छोराहरुलाई प्रहरीले पक्राउ गरेको छ । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिरोध गर्न खोज्दा हत्या
काले आफ्नो श्रीमतीसँग सधैँ झैझगडा गर्थे । ०७४ पुष ३० गतेका दिन उनि मादक पदार्थ सेवन गरेर आएका थिए । उनले आफ्नो श्रीमतीलाई कुटपिट गरे । ‘त्यो रात कालले मादक पदार्थ सेवन गरेर आएको रहेछ । श्रीमतीलाई कुट्न भनेर लठ्ठि पनि लिएर आए ।’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) सन्तोष निरौलाले दियोपोस्टसँग भने,‘त्यही लठ्ठि खासेर भद्रकलाले कालेलाई प्रहार गरेका रहेछन् ।’

डिएसपी निरौलाका अनुसार लाठी प्रहारपछि भद्रकला आत्तिइन् र कालले उठेर आफुलाई पिट्ने डरले कालेलाई सुताएर छिमेकीको घरमा बस्न पुगिन् तर छिमेकीको घरबाट भोलिपल्ट विहान कालेको मृत्यु भैसकेको थियो । मृत्यु भएपछि घरदेखि १० मिटर पर रहेको शौचालयको सेफ्टि ट्याङ्कीमा छोरासहित मिलेर गाडेको हो ।