काठमाडौं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट मंगलबार उनको उद्धार गरिएको हो । उद्धारपछि बालिकालाई एक सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको छ । ब्युरोले यहाँ शुक्रबार पत्रकार सम्मेलन गरी बालिकाको उद्धारबारे जानकारी दिएको हो ।
‘बालिकालाई तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनिएको रहेछ । भारत लानुअघि बालिकाको तौल, उचाइ, शरीरमा दाग, टाटु र रजस्वला भए–नभएको परीक्षण गरिएको रहेछ,’ ब्युरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले भने ।
उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुईपटक शारीरिक परीक्षण गरिएको थियो । ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अंगमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तहरूले जानकारी दिएको प्रहरीको भनाइ छ ।
पीडित बालिकालाई मंसिर १७ गते मामाघरबाट काठमाडौं ल्याइएको थियो । पुस १९ सम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पहाडगञ्जमा पुर्याइएको प्रहरीको भनाइ छ ।